‘वाम गठबन्धनलाई भारतले सहज रुपमा लिएको छ’
काठमाडौं, ७ कात्तिक । निवर्तमान राजदुत दिपकुमार उपाध्यायले नेपालमा हुन गैरहेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भारतको पूर्ण सहयोग, साथ र सद्भाव रहेको स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उपाध्यायले अहिले देखिएको वामगठबन्धनलाई भारतले सहज रुपमा लिएको समेत जानकारी दिए । उनले भने,‘खासगरी यो वाम गठबन्धन चुनाव जिताउनको लागि मात्रै हो भन्ने देखिएको छ, अरुलाई शंका गर्नुहुँदैन, आफ्नो अभिभारा नेपाली आँफैले लिनुपर्छ, चुनाव गर्ने जिम्मेवारी हाम्रो हो।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उपाध्यायले नेपालको चुनावप्रति भारतको सदैव साथ र सहयोग रहेको समेत सुनाए । उनले भने,‘नेपालको चुनावलाई लिएर भारत सरकारले पनि औपचारिक रुपमा समर्थन, सद्भाव र सहयोग रहन्छ भनेको छ, त्यसैले भारतप्रति नेपालले कहिल्यै शंका गर्नुहुँदैन्।’

उपाध्यायले २ वर्षै कुटनीतिक यात्राबाट आफूले विश्राम लिएर पूनः राजनीतिमै फर्किएको स्पष्ट पारेका छन् । उनले भने,‘जीवन पाठशाला हो, नमरुञ्जेलसम्म सिक्ने हो, विशेष समयमा विशेष भूमिका निर्वाह गरेर म पूनः राजनीतिमा फर्किएको छु, त्यतिपनि म तत्कालिन पार्टी सभापति सुशिल कोइराला र तत्कालिन राष्ट्रपति रामवरण यादवको विशेष आग्रहलाई सम्मान गरेर राजदुतको भूमिका निर्वाह गरेको हुँ, मैले त्यतिवेला पनि फर्कन्छु भनेर नै जानकारी गराएको थिएँ ।’
दुई वर्षे आफ्नो भारत बसाईको क्रममा आफूले विवेकले भ्याएसम्म खुल्ला हृदयले काम गरेको विश्वास दिलाए । उनले भने,‘अहिले नेपाल–भारत सम्बन्ध सुमधुर छ, प्रगाढ छ, मैले के कति काम गरें भन्ने कुरा जनताले राम्रोसँग बुझ्नुभएको छ।’ उनले कपिलबस्तुजस्तो बुद्ध जन्मेको माटो, पवित्र भूमि र त्यहाँका जनताले आफूलाई माँग गरेको सुनाउँदै कुटनीतिकबाट मर्यादित अवतरण लिएको स्पष्ट पारे ।
उनले थपे,‘हिजो मेरो राजिनामा स्विकृत भएको छ, यो मर्यादित कुटनीतिक अवतरणसँगै म नेपाल सरकार र सम्मानीय प्रधानमन्त्रीज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु।’ २ वर्षे कार्यकालको कोर्सलाई सहज रुपमा पूरा गरेर आफू पूनः राजनीतिमा नै सक्रिय हुन लागेको उनको भनाई थियो ।
उनले संसदको म्याद सकिएको अवस्थामा आफ्नो राजिनामा अन्तिम–अन्तिम अवस्थामा स्विकृत भएकोले तत्काल राजदुत नियुक्त हुन नसक्ने अवस्था भएपनि नेपालको परराष्ट्र सेवा अत्यन्तै चुस्त–दुरुस्त र सक्षम नेतृत्व रहेकोले कुनै समस्या नआउने विश्वास दिलाए ।
उनले कांग्रेसले सकेसम्म चुनावी तालमेल नगरीकन एक्लै चुनाव लड्नुपर्नेथियो भन्दै अहिले देखिएका चुनावी तालमेल पनि स्वभाविक रहेको स्पष्ट पारे । उनले थपे,‘पहिलो कुरा जितेपनि वा हारेपनि कांग्रेस चुनाव एक्लै लडनुपर्दथ्यो, हामी तत्कालिन लाभकावे पक्षमा छैनौं, मुलुकले जित्नुपर्छ, जनताले जित्नुपर्छ भन्ने पक्षमा छौं।’
उनले लेफ्ट एलायन्स आक्रमक रुपमा उत्रिएकोले लोकतान्त्रिक शक्तिहरुवीच चुनावी तालमेलको प्रयास भैरहेकोले पहिलो कुरा देश र जनताले जित्नुपर्ने धारणा राखे । उनले भने,‘लोकतन्त्रले जित्नुपर्छ, देशले जित्नुपर्छ।’
कपिलवस्तुको कुन क्षेत्रबाट चुनाव लड्दैहुनुहुन्छ भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘पार्टीले मलाई कुन रुपमा उपयोग गर्छ भन्ने कुरा हो, म त पार्टीले दिएको भूमिका निर्वाह गर्न तयार छु, मैले सबैलाई मिलाएर जानुपर्छ, कपिलवस्तुको माटोले जे भन्छ म त्यही गर्न तयार छु, म आफ्नो कर्मममा निष्ठापूर्वक लाग्छु।’
भारत बसाईको क्रममा आफूले विकासका धेरै मोडेलहरु देखेको स्मरण गराउँदै नेपाल भू–स्वर्ग भएकोले निर्वाचनपछि मुलुकले विकासको गति लिने उनको विश्वास थियो ।
जनताले भोट कहाँ खन्याउने कुरालाई आफूले जनताको विवेकसँग जोडेर लिएको भन्दै जनताले सही निर्णय लिने उनको विश्वास थियो । ‘निर्वाचनलाई वैचारिक बहसको रुपमा लैजानुपर्छ, राजनीतिक निष्ठा र आर्दश छोड्नुहुँदैन्’ उनले भने।




प्रतिक्रिया