एमाले–माओवादी केन्द्रले संयुक्त चुनावी अभियान चलाउने


काठमाडौं, ११ कार्तिक । नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणको निर्वाचनअघि नै ताप्लेजुङदेखि दार्चुलासम्म संयुक्त अभियान चलाउने भएका छन् ।
प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणमा चुनाव हुने हिमाली र उच्च पहाडी जिल्लामा दुई पार्टीले संयुक्त संगठन परिचालन गर्न यस्तो अभियान चलाउने निर्णय गरेका हन् ।

शुक्रवार एमाले–माओवादी केन्द्रीय संयोजन समितिका तर्फबाट एकता सन्देश प्रभावकारी बनाउन ७ बुँदे संयुक्त विशेष निर्देशन जारी गरिएको छ । संयुक्त निर्देशनमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन ।

अभियान कात्तिक १९ गते ताप्लेजुङबाट सुरु भई २६ गते दार्चुलामा समापन हुने समितिले जनाएको छ । अभियानका क्रममा हरेक गाउँमा दुई पार्टीका संयुक्त बैठकहरु बस्नेछन् भने संयुक्त चुनाव परिचालन समिति गठब हुनेछ । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड सम्मिलित रहेको केन्द्रीय संयोजन समितिका सदस्यहरु अभियानमा सामेल हुनेछन् ।

अभियानका क्रममा केन्द्रीय संयोजन समितिका सदस्यको उपस्थितिमा दुवै पार्टीका प्रदेश, जिल्ला र क्षेत्रीय कमिटीहरुका बैठक बस्ने माओवादी केन्द्रका एक नेताले जानकारी दिए । उनका अनुसार संयुक्त चुनावी अभियान क्रममा गाउँतहदेखि नै पार्टी एकता संयोजन समिति र संयुक्त चुनाव प्रचार समिति बन्नेछ ।