वाम गठबन्धनको चुनावी प्रचार रणनीति बन्दै, प्रचण्डले एमालेको र ओलीले माओवादीको बैठकलाई सम्वोधन !


१२ कात्तिक, काठमाडौं । पार्टी एकतासम्मको प्रक्रिया भन्दै वाम गठबन्धन गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी प्रचारको शैली सार्वजनिक गरेका छन् ।
वाम गठवन्धनमार्फत् पार्टी एकताको गृहकार्य गरीरहेका एमाले र माओवादीका नेताहरुले एकअर्काको बैठकलाई सम्वोधन गर्ने तयारी गरेका हुन् ।

दुई पार्टीबिचको छलफलले एमालेका उम्मेदवार भएको ठाउँमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र माओवादीका उम्मेदवार भएको ठाउँमा एमाले अध्यक्ष ओलीले चुनावी सभालाई सम्बोधन गर्ने बताइएको छ । यद्यपी यस विषयमा टुङ्गो भने लागिसकेको छैन ।
दुवै पार्टीले संयुक्त रुपमा निर्वाचन परिचालन तथा प्रचार समिति बनाउने र प्रशिक्षण चलाउने क्रम जारी छ ।

विपरित पार्टीका उम्मेदवार भएको ठाउँमा दुवै अध्यक्षले सम्बोधन गर्ने विषयमा छलफल भइरहेको तर कहिले, कहाँ, कसरी गर्ने भन्ने चाहीँ तय हुन सकेको छैन ।
माओवादी निकट वाइसीएल र एमाले निकट युवा संघको संयुक्त बैठक बसेर तीन हजार सदस्यीय चुनाव प्रचार समिति हालै गठन गरेका छन् ।

अखिल क्रान्तिकारी र अनेरास्ववियुले पनि १५ गते संयुक्त बैठक आह्वान गरेका छन् । सो बैठकले संयुक्त निर्वाचन परिचालन तथा प्रचार समिति बनाउने र वाम गठवन्धनलाई जिताउन देशभर अभियान सञ्चालन गर्ने छन् ।