कांग्रेसको कारणले लोकतान्त्रिक गठबन्धन बन्न सकेन, अझै तालमेलको सम्भावना छ : मनिष सुमन


कात्तिक १२, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका महासचिव मनिष सुमनले मधेशी जनताका लागि मुख्य दलहरु कांग्रेस, एमाले र माओवादी एउटै भएको आरोप लगाएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कर कार्यक्रममा बेल्दै नेता समुनले तीन दलमध्ये पनि नेकपा एमाले मधेशविरोधी भएको आरोप लगाए । महासचिव सुमनले भने, “एमालेले त मधेशी जनतालाई केही पनि दिन्न भनेर ठाडै भनेको छ ।”

वाम गठबन्धनले नेपालमा साम्यवाद लाद्न खोजेको आरोप लगाउँदै सुमनले बहुदलीय प्रतिस्पर्धाको अन्त्य गर्नका लागि एमाले र माओवादी मिलेको तर्क गरे । “वाम गठबन्धनले नेपाललाई भेनेजुयला र क्युवा बनाउन खोज्दैछ । जनता सशंकित छन् ।” सुमनले भने ।

आवश्यकता अनुसार लोकतान्त्रिक गठबन्धन निर्माण गर्न लागिएको भए पनि नेपाली कांग्रेस इमानदार नबनेको आरोप सुमनको छ । “कांग्रेससँगको तालमेलप्रति कुनै आकर्षण छैन । चुनावी तालमेल मात्रै पनि बाध्यात्मक परिस्थितको उपज हो । एमाले र माओवादीले साम्यवाद लाद्न खोजेकाले लोकतान्त्रिक गठबन्धनको आवश्यकता बनेको हो ।” सुमनको भनाई छ ।

मधेशीको माग अनुसार संविधान संशोधन गर्ने विषयमा नेपाली कांग्रेसले प्रतिवद्धता जनाउनुपर्नेमा सुमनले जोड दिएका छन् । तर आफ्नो हैसियतअनुसार कांग्रेसले तालमेलका लागि सिट बाँडफाँट गर्न तयार हुनुपर्ने सुमनको भनाई छ । तालमेल गर्ने भनिए पनि कांग्रेसले आफुखुशी उम्मेदवार बनाएको र कार्यदलको बैठकमा पनि जिम्मेवार बन्न नसकेको आरोप सुमनले लगाए ।
राजपा र संघीय समाजवादी फोरमले भने साझा उम्मेदवार तय गर्ने जानकारी सुमनले दिए ।

फरक प्रसङ्गमा सुमनले ऋषि धमलालाई मधेशबाट साझा उम्मेदवार बनाउन चाहेको बताए । राजपा र संघीय समाजवादी फोरमबिचमा धमलालाई उम्मेदवार बनाउने विषयमा सहमति भइसकेको सुमनले बताए । नेपाली कांग्रेसले धमलालाई उम्मेदवा बनाउने विषयमा निर्णय नगरेकाले आफुहरु त्यसको पर्खाइमा रहेको सुमनको भनाई छ । मधेशका जुनसुकै क्षेत्रबाट चुनाव लडे पनि धमलाको जित सुनिश्चित रहेको भन्दै सुमनले रौतहट ४ वा सर्लाही १ र ३ मध्ये जुनसुकै क्षेत्रबाट उम्मेदवार बनाउन तयार रहेको बताए ।
“हामी ऋषि धमलालाई स्वागत गर्न पर्खेर बसेका छौँ । कांग्रेसले किन निर्णय गर्न सकेन ?” सुमनले भने ।