कात्तिक १३, काठमाण्डौ । नेकपा एमालेका नेता रेवती पन्तले सर्लाही जिल्लामा वाम गठबन्धनले बाँडफाँट गरेको सिट वैज्ञानिक नभएको भन्दै आपत्ति जनाएका छन् । गठबन्धनको उद्देश्य अनुसार सिट संख्या बाँडफाँट नहुँदा सर्लाहीका नेता, कार्यकर्ता निराश भएको पन्तको भनाई छ ।
सर्लाही जिल्लाका एमाले अध्यक्षसमेत रहेका पन्तले नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै ६०–४० प्रतिशतका आधारमा बाडिएको सिट एमाले र माओवादी दुवैको हितमा नभएको बताए । “जहाँ माओवादीले जित्न सक्छ त्यहाँ एमालेको भाग प¥यो, जहाँ एमालेले जित्न सक्छ त्यहाँ माओवादीको भाग प¥यो । जसले गर्दा सम्पूर्ण कार्यकर्ता निराश र चिन्तित छन् ।” पन्तले भने ।
गठबन्धन बन्दा पनि सर्लाही जिल्लाबाट जित्न नसकिने गरी बाँडफाँट गरिएको आरोप पन्तको छ । आफू सर्लाही एमालेको अध्यक्षको हैसियतले जिल्लाको अवस्थाको बारेमा केन्द्रमा रिपोर्ट पेश गरेपनि त्यस अनुसार सिट भागबण्डा नगरिएकोमा पन्तले आपत्ति जनाए । “एमालेले कसको कुरा सुन्ने हो । कहाँबाट निर्देशित भएर निर्णय हुन पुग्यो । अचम्म लागेको छ ।” पन्तले भने ।
फरुक प्रसङ्गमा नेता पन्तले सर्लाही क्षेत्र नम्बर ३ मा ऋषि धमलालाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउने चर्चा चलेको भन्दै यदी धमलाले चुनाव लड्ने हो भने तरङ्ग पैदा हुने बताएका छन् ।
सर्लाही जिल्लाका एमाले अध्यक्षसमेत रहेका पन्तले धमलाको कार्यक्रम नेपाली बहस अत्यन्तै लोकप्रिय भएकाले जनताले रुचाएको बताए । “ऋषिधमलाका फ्यानहरु पनि मैले धेरै देखेको छु । यो हिसाबले धमलाले कांग्रेसबाट टिकट ल्याएको खण्डमा तहल्का मच्चिन्छ ।” पन्तले भने ।
“ऋषि धमलाको हमला चाँही सर्लाही ३ मा राम्रै चल्छ ।” पन्तको ठोकुवा छ ।
राजपा, संघीय समाजवादी फोरम र नेपाली कांग्रेसमध्ये जुन दलबाट टिकट ल्याए पनि धमलाको प्रभाव राम्रो पर्ने तर्क पन्तले गरेका छन् ।
सर्लाही जिल्ला आफैमा पनि तराई मधेश आन्दोलनको केन्द्रविन्दु भएको र तरङ्ग ल्याउन सक्ने जिल्ला भएकाले धमलाको उम्मेदवारी सशक्त हुने पन्तको भनाई छ ।
प्रजातान्त्रिक व्यक्तित्व भएका धमला राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चर्चित भएकाले उम्मेदवारीले तरङ्ग ल्याउने पन्तको दाबी छ ।




प्रतिक्रिया