कात्तिक १७, काठमाण्डौ । आगामी चुनावको प्रतिस्पर्धा धेरै ठाउँमा निकै रोचक हुने देखिएको छ । चर्चित अनुहारहरु एकै ठाउँबाट उम्मेदवार बनेका क्षेत्रमा चुनावी भिडन्त रोचक देखिएका समिति ठाउँमध्ये धनुषा क्षेत्र नम्बर ३ पनि एक हो ।
उक्त क्षेत्रबाट कांग्रेसको शीर्ष नेता विमलेन्द्र निधी र राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेपछि प्रतिस्पर्धा फलामको चिउरा चपाएसरह देखिएको छ ।
राजपा र कांग्रेसबिच चुनावी तालमेल गरेर उक्त क्षेत्रबाट साझा उम्मेदवार बनाउने विषयमा लामो बहस भए पनि निधी र महतोले अडान नछोडेपछि दुवै शीर्ष नेता उम्मेदवार बनेका हुन्
एकै ठाउँबाट चुनावी प्रतिस्पर्धामा उत्रिएपछि दुई नेताको विगतको सुमधुर सम्बन्ध पानी बाराबारको स्थितीमा पुगेको छ । यति मात्र होइन, दुई नेताको जुँगाको लडाईले धार्मिक, ऐतिहासिक र पौराणिक महत्व बोकेको जनकपुरधाम अहिले राजनीतिकले तातेको छ ।
कांग्रेस नेता निधीले आफुलाई मधेशबाट प्रतिनिधित्व गर्दै भविष्यमा देशकै प्रधानमन्त्रीको रुपमा दाबी गरेका छन् भने महतोले आफु मधेशको पुत्र भएको भन्दै चुनाव जित्ने दाबी गरेका छन् ।
महतोले गठबन्धनका नाममा एक महिनासम्म वार्ता गर्दा पनि कांग्रेसले सहमति नगरेको र उसले एकतर्फी रुपमा उम्मेदवार घोषणा गरेको आरोप लगाएका छन् ।
महतो संघीय समाजवादी फोरमको समर्थनमा उम्मेदवार बन्दै छन् भने निधि एकल प्रतिस्पर्धामा उत्रिदै छ ।
सहमति अनुसार सबै क्षेत्रमा चुनावी तालमेल गर्न नसकेपनि शीर्ष नेताहरुको बीचमा तालमेल हुने सहमति भएको थियो । जसअनुसार मधेशवादी दलका शीर्ष तहका नेताले उम्मेदवारी दिने ठाउँमा काँग्रेसले उम्मेदवारी नदिने, काँग्रेसका शीर्ष नेताले उम्मेदवारी दिने ठाउँमा मधेशवादी दलले उम्मेदवारी नदिने सहमति भएको थियो ।
तर, अन्तिममा आएर राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको सीट काँग्रेसले छाड्न नमानेपछि सहमति भत्किएको हो ।
विमलेन्द्र निधि दोस्रो संविधान सभाको निर्वाचनमा सोही निवार्चन क्षेत्रबाट चुनाव जितेका थिए । तर राजेन्द्र महतो भने सलार्हीबाट पराजित भएका थिए ।
जनकपुर उपमहानगरपालिकाको २५ वटा वडामध्ये १५ वटा वडा सोही क्षेत्रमा रहेका छन् । ती वडामध्ये अधिकाँशमा राजपा नेपाल नै जितेका छन् । १५ वडामध्ये नौवटा वडा राजपा नेपालले जितेका छन् भने काँग्रेसले चार र एमालेले दुईवटा वडा जितेका छन् ।
सोही निर्वाचन क्षेत्रमा वाम गठबन्धनको तर्फबाट जुली महासेठले प्रतिस्पर्धा गर्ने भएकी छन् । जुली एमाले नेता रघुबीर महासेठकी पत्नी समेत हुन् ।




प्रतिक्रिया