चितवनको बारेमा प्रचण्ड अनभिज्ञ, विक्रम पाण्डेले सम्पन्न गरेको काम “म गर्छु” भन्दै हिँडेपछि……


कात्तिक २७, काठमाण्डौ । चितवन क्षेत्र नम्बर तीनमा लोकतान्त्रिक गठबन्धनका तर्फ प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका राप्रपाका नेता विक्रम पाण्डेले आफ्नो प्रतिस्पर्धी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि कटाक्षपूर्ण टिप्पणी गरेका छन् ।

चुनावी कार्यक्रमका सिलसिलामा मतदातासँग कुरा गर्दै पाण्डेले आफूले सम्पन्न गरिसकेको कामसमेत दाहालले गर्छु भन्दै हिँडेको बताएका छन् । चितवनको विकासका बारेमा दाहाल अनभिज्ञ रहेको भन्दै पाण्डेले भने, “पहिला पहिला रातीमा हिँड्नुभयो, अहिले दिउँसोमा हिँड्दा कसरी देख्नुहुन्छ ?”

आफूलाई भाषण गर्न आउँदैन तपाईहरुसँग कुरा मात्रै गरेको छु है भन्दै पाण्डेले भरतपुर महानगरपालिका दाहाल पुत्री रेणु दाहालसँग पराजित एमाले नेता देवी ज्ञवालीप्रति पनि पाण्डेले व्यङ्ग्यात्मक टिप्पणी गरे । “मैले एकदम माया गर्छु, त्यो देवी ज्ञवालीजीलाई । हसिलो अनुहार, भाषण मीठो गर्ने, अहिले उहाँ अपहरण शैलीमा, अपहरणमा परेको मान्छेले जस्तो जेजे बोल भन्यो त्यही बोल्दै हिँड्नुभाछ ।” पाण्डेले भने ।

पहिला पहिला ज्ञवालीले पैसाको समस्या पर्दा आफूलाई सम्झिने गरेको स्मरण गर्दै पाण्डेले ज्ञवाली अहिले अपहरणमा परेजस्तै भएको बताए ।
सम्बोधनका क्रममा पाण्डेल चितवनका विकासका लागि आफूले धेरै काम गरेको दाबी गरे । विभिन्न आयोजनहरु अहिले पनि अघि बढाइरहेको जानकारी दिदै पाण्डेले आफुले गरेका कामको दाबी अहिले प्रचण्डले गर्ने गरेको आरोप लगाए ।