१ मंसिर, काठमाण्डौ । नेपाली कांग्रेसका तर्फबाट महोत्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेकी किरण यादवले दुई कार्यकाल यही क्षेत्रमा निः स्वार्थ भएर काम गरेकाले यसपटक पनि चुनाव जित्ने दाबी गरेकी छिन् । रिपोर्टर्स क्लब नेपालले गरेको चुनावी बहसका क्रममा उम्मेदवार यादवले जनताको बिचमा सकारात्मक छाप छोड्न सफल भएकाले चुनाव जित्ने आधार बलियो भएको बताइन् ।
आफू महिला भएर पनि जनताको हितमा काम गर्ने सवालमा सधैँ अग्रसर भएको उनको भनाई छ ।
पहिलो संविधानसभामा समानुपातिक र दोस्रो संविधान सभाको चुनावमा प्रत्यक्ष चुनाव जितेकी यादवले आफ्ना प्रतिस्पर्धी शरदसिंह भण्डारीलाई जित्नका लागि कुनै अप्ठ्यारो नहुने बताईन् । पैसा खर्च गरेर मात्रै चुनाव जित्न नसकिने बताउँदै यादवले जनताले कुन उम्मेदवार ठीक छ भनेर छुट्टयाउने बताइन् ।
भण्डारी राजपा र संघीय समाजवादी फोरमका साझा उम्मेदवार हुन् ।

आफ्ना प्रतिस्पर्धी शरदसिंह भण्डारीले भोट माग्न जाने क्रममा हरेक गाउँमा खसी काटेर भोज खुवाउने गरेको यादवको दाबी छ । “खसी काटेर भोज भतेर गर्दिने, अनि मान्छेलाई आकर्षित गर्ने, त्यो खालको जुन अभियान चलाइरहनुभएको छ । त्यसले सबै जनता आकर्षित हुन सक्दैनन् ।” यादवले भनिन् ।
भण्डारीले चुनाव लड्ने बेलामा पैसा बगाउने गरेको आरोप समेत लगाइन् । चनुावमा पैसा बाँड्ने तर चुनाव जितेपछि पाँच वर्ष त्यस क्षेत्रका लागि केही पनि काम नगर्ने प्रवृत्ति भण्डारीमा रहेको यादवको आक्षेप छ ।




प्रतिक्रिया