१२ मंसिर, काठमाण्डौ । प्रदेश नम्बर २ को पर्सा जिल्लाबाट उम्मेदवार बनेका मधेशवादी नेताहरुले जनताको हक अधिकार स्थापितका लागि काम गर्ने दाबी गरेका छन् । २ नम्बर क्षेत्रका उम्मेदवार हरिनारायण रौनियारसँग ऋषि धमलाले गरेको कुराकानीमा आफ्नो मूल एजेण्डा जनपक्षीय रहेको दाबी गरेका छन् ।
मधेशी जनताको एजेण्डाका आधारमा कांग्रेसले नभै मधेशवादी दलले चुनाव जित्ने तर्क रौनियारको छ । मधेशी जनताले खोजेको अधिकार र विकासका लागि कांग्रेसले केही काम गर्न नसकेको आरोप रौनियारको छ ।
आफ्नो दलका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकारका लागि लडाई गरेको बताउँदै रौनियारले आफ्ना प्रतिस्पर्धी सुरेन्द्र चौधरीले २ पटक चुनाव जितेर केही काम गर्न नसकेको आरोप लगाए ।
चौधरीले काठमाण्डौमा रेष्टुरेण्ट खोलेर मोजमस्ती गर्ने गरेको आरोप रौनियारको छ । भौतिक पूर्वाधार विकासको काम कुनै पनि गर्न नसकेको रौनियारको जिकिर छ ।
प्रदेश नम्बर २ मा राजपा–फोरम गठबन्धनले बहुमत ल्याउने दाबी गर्दै रौनियारले उक्त प्रदेशमा आफूहरुले सरकार बनाउने दाबी गरे ।




प्रतिक्रिया