काठमाडौं, १९ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका दोस्रो चरणमा मङ्सिर २१ गते ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रमा हुने मतदानका लागि सुरक्षा प्रबन्धसहित आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार मतदान केन्द्रित तयारीका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृतहरु सबै मतदान केन्द्रमा पुगिसकेका छन् ।
दोस्रो चरणको निर्वाचनमा ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रमा मङ्सिर २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने छ । मंगलबार आयोग परिसरमा पत्रकार सम्मेलन गर्दै आयुक्त ईश्वरीप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् ।
मतदातालाई निर्वाचनमा मतसंकेत कसरी गर्ने भनेर सिकाउन आयोगले हरसम्भव प्रयास गरेको उनको भनाई थियो । उनले भने,‘मतदाता शिक्षा कार्यकर्ताले आज र भोलि प्रत्येक मतदान केन्द्रमा परिचयपत्र लिन आउने मतदातालाई मतपत्र देखाएर मतसंकेत गर्न सिकाउने व्यवस्था गरिएको छ । स्थानीय तहमा परिचयपत्र नलिनु भएका वा मतदाता नामावलीमा नाम समावेश हुनुभएका नयाँ मतदातालाई परिचयपत्र वितरणको व्यवस्था मिलाइएको छ ।’
आयोगद्धारा जारी प्रेस वक्तव्यको पूर्ण पाठ :
गए राती १२ बजेबाट निर्वाचनको लागि मौन अवधि लागू भइसकेको छ । मौन अवधिमा दल, उम्मेदवार, मतदाता, सञ्चार माध्यमलगायत सम्बद्ध सबैले निर्वाचन आचारसंहिता विशेषरूपले पालना गर्नु पर्ने हुन्छ । प्रचार प्रसारका क्रममा तथा मौन अवधिमा समेत निर्वाचन आचारसंहिता पालना गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र मर्यादित एवं विश्वसनीय बनाउन राजनीतिक दल, उम्मेदवारलगायत सम्पूर्ण सरोकारवालाहरूसँग निर्वाचन आयोग हार्दिक आग्रह गर्दछ ।
मतदाता शिक्षालाई प्रभावकारी बनाउनकै लागि यस पटकको निर्वाचनमा आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिकतर्फको सक्कली मतपत्रकै नमुनालाई आयोगको वेभसाइटमा राखेर राजनीतिक दल, उम्मेदवार वा कार्यकर्तालाई सहजरुपमा उपलब्ध गराएको छ ।
यो व्यवस्थाबाट राजनीतिक दल र उम्मेदवारले आ–आफ्नो तर्फबाट मतदातालाई मतसंकेत गर्न सिकाउनु भएको जानकारी आयोगलाई प्राप्त भइरहेको छ ।
मतदाता शिक्षालाई अभियानकै रुपमा सञ्चालन गर्नका लागि आयोगले सरकारी सञ्चार माध्यमहरु गोरखापत्र, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन, सूचना विभागसँग छुट्टाछुट्टै सम्झौता गरी मतदाता शिक्षाका सूचना वा सन्देशलाई निरन्तररुपमा प्रवाह गर्दै आएको छ ।
मतदाता शिक्षाको नेतृत्व निर्वाचन आयोगले गरेपनि आमरुपमा यसको जिम्मेवारी आयोग, राजनीतिक दल, नागरिक समाज लगायतका निर्वाचनका सरोकारवालाहरु समेतमा रहन्छ । निर्वाचन आफैमा खर्चिलो र विशिष्ट व्यवस्थापकीय कार्य हो । यद्यपी आयोगले यस निर्वाचन सम्पन्न गर्नका लागि मतदाता शिक्षा लगायतका क्षेत्रमा खर्च गर्दा मितव्ययिता, औचित्यता र प्रभावकारिताको नीति अवलम्बन गरेको छ ।
आयोगको निर्देशन अनुसार नेपाल सरकारले निर्वाचन प्रक्रियाका समग्र क्रियाकलापहरुमा भरपर्दो सुरक्षा व्यवस्था गरेपनि केही स्थानमा उम्मेदवार लक्षित आक्रमणले आयोगलाई गम्भीर बनाएको छ । सरकारले सम्पूर्ण सुरक्षा निकायलाई थप सक्रियता र सजकता अपनाउन निर्देशन दिएको छ । सम्पूर्ण मतदाताहरुलाई ढुक्क रही भयरहित वातावरणमा मतदानमा सहभागी हुन आयोग आग्रह गर्दछ ।
निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारहरुबाट पैसाको चलखेल नहोस् भन्नका लागि आयोगले निर्वाचनमा हुने खर्च र आचारसंहिता पालनाको प्रभावकारी ढंगले अनुगमन गरेकाले पछिल्लो समयमा निर्वाचनमा हुने खर्च र तडकभडकमा कमी आएको महसुस गरिएको छ ।
निर्वाचनलाई सफल बनाउन आम सञ्चार माध्यमहरूको अतुलनीय योगदान रहँदैआएको छ । पहिलो चरणको निर्वाचनमा मिडियाले पु¥याएको योगदानको आयोग मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छ । पत्रकारहरूको आफ्नै आचारसंहिताको पालना तपाईंहरूले गरिरहनुभएको छ । साथै निर्वाचनको समयमा लागू भएको निर्वाचन आचारसंहिताको पालनामा पनि सञ्चार जगत् त्यत्तिकै प्रतिबद्ध छ भन्नेमा आयोग विश्वस्त छ । मतदातालाई प्रभावित पार्ने, डर, त्रास देखाउने, निर्वाचनको प्रतिकूल हुने सामग्रीहरुलाई सञ्चार माध्यममा स्थान नदिन आयोग आग्रह गर्दछ ।
मतगणनासम्बन्धी व्यवस्थापन :
=२०७४ मंसिर २१ गते मतदान सम्पन्न भएपछि पहिलो चरणमा मतदान भएका ३२ जिल्लामा मतगणना कार्य सुरु हुने छ भने दोस्रो चरणमा मतदान भएको जिल्लामा सबै मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन भएपछि सुरु हुन्छ ।
=प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीको मतगणना एकै समयमा सुरु गर्न सकिने छ । स्थानको अभावका कारण एकै पटक नहुन पनि सक्छ ।
= एकै समयमा सबै निर्वाचनको मतगणना गर्न नसकिएमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना एकै पटक गरी सोको गणना समाप्त भएपछि समानुपातिक निर्वाचन प्रणाली बमोजिमको निर्वाचनको मतगणना गर्नुपर्ने हुन्छ ।
=पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना एकै पटक गर्न नसकिएमा पहिले प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतगणना गरी त्यसपछि प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना गर्न सकिने छ ।
= मतदाता संख्या थोरै रहेका निर्वाचन क्षेत्रमा मतगणना प्रारम्भ भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन परिणाम आउने भएकाले अन्य क्षेत्रको मतपरिणाम आउन धेरै ढिला हुँदा आममतदाता, सञ्चारकर्मी र राष्ट्रिय, अन्तर्राष्ट्रिय पर्यवेक्षकको चासो समेत रहने भएकाले मतदाता संख्या अनुसार थप मतगणना टोली परिचालन गरी चार दिनभित्र प्रत्यक्ष र आठ दिनसम्ममा समानुपातिकको मतगणना सक्ने गरी व्यवस्थापन गरिएको छ ।
=मतदान सम्पन्न भई मतपेटिका मतगणना स्थलमा ल्याई पु¥याउनु पूर्व आवश्यक सङ्ख्यामा मतगणना टोली र मतगणनास्थल तयारी अवस्थामा राख्न र मतगणना कार्यमा सरकारी कर्मचारी (शिक्षक बाहेक) मात्र परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।
= मतगणना प्रतिनिधिलाई प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका अनुसार परिचयपत्र उपलब्ध गराउँदा मतगणना प्रतिनिधिको फोटो अनिवार्यरूपमा टाँसेर मात्र उपलब्ध गराउन निर्देशन दिइएको छ ।
उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि, सञ्चारकर्मी, कर्मचारी वा मतगणना स्थलमा प्रवेश पाउने कुनै व्यक्तिलाई मतगणना स्थलमा प्रवेश गर्न दिनु अघि अनिवार्य रूपमा सुरक्षा जाँच गरेर मात्र प्रवेश दिइने छ ।
मतगणना स्थलमा प्रवेश पाउने कसैले पनि लाईटर, सलाई, एसिडजस्ता प्रज्वलनशील सामग्री वा पदार्थ वा अन्य कुनै घातक सामग्री मतगणना स्थलमा लैजान नसक्ने गरी सुरक्षा जाँचको बन्दोबस्त मिलाउने । मतगणनासम्बन्धी कागजात राख्ने खाम वा थैलोमा लाहाछाप लगाउने प्रयोजनको लागि लैजानुपर्ने सलाई, लाहा आदि सामग्री मतगणना स्थलमा लैजादा र राख्दा उच्च सुरक्षा सतर्कता अपनाइ लैजाने र राख्ने व्यवस्था मिलाउने,
मतगणना स्थलमा राजनीतिक दल वा उम्मेदवारका प्रतिनिधिहरुको बस्ने व्यवस्था मिलाउँदा मतगणना गर्न मतपत्र खन्याइने र गणना गरिने स्थलबाट निश्चित दूरीमा बस्ने व्यवस्था मिलाउने । मतगणना कर्मचारी बस्ने र उम्मेदवार वा राजनीतिक दलका प्रतिनिधिहरु बस्ने खण्ड अलग अलग छुुट्याई आवश्यकतानुसार बीचमा टेबुल, बेञ्च, डेस्क, डोरी वा यस्तै प्रकारका अन्य छेकवार राख्ने । सम्भव भएसम्म मतगणना कर्मचारीहरु र मतगणना प्रतिनिधि मतगणना कक्षमा प्रवेश गर्ने र बाहिरिने मार्ग अलग–अलग हुने गरी व्यवस्थापन गर्ने,
मतगणना स्थलमा उपस्थित उम्मेदवार÷निर्वाचन प्रतिनिधि÷मतगणना प्रतिनिधिले मतगणनाको क्रममा कुनै पनि हालतमा मतपत्र छुन नपाउने÷नसक्ने गरी छेकवार राख्ने र उपरोक्त व्यक्तिले मतपत्र छुन नपाउने गरी उच्च सुरक्षा प्रबन्ध मिलाइने छ ।
मतगणना स्थलमा प्रवेश पाएकामध्ये मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखबाहेक अरूलाई मोवाइल फोन, क्यामरा, अडियो, भिडियो उपकरण मतगणना स्थलमा लैजान निषेध गरिएको छ ।
मतगणना कार्यलाई व्यवस्थित गर्न सर्वदलीय÷सर्वपक्षीय सहमती गर्दा कस्ता मतपत्र सदर र कस्ता मतपत्र बदर हुने भन्ने बारेमा मतगणना निर्देशिकामा उल्लेख भएका कुराहरू बुझाई मतगणना आरम्भपूर्व सहमति कायम गर्ने । मतगणना शुरू भइसकेपछि बीचबीचमा थप सहमति नगर्ने व्यवस्था मिलाउने ।
= राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई मतगणनाको पर्यवेक्षण गर्न दिँदा मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृतले निश्चित समय, स्थान र अवधि तोकी पर्यवेक्षण गर्न दिने व्यवस्था मिलाउने,
=उपलब्ध स्रोत साधनबाट सम्भव हुने अवस्थामा मतगणना स्थलमा सीसीटीभी जडान गर्न सकिने ।
= कुनै उम्मेदवार वा राजनीतिक दलको निर्वाचन प्रतिनिधि, मतगणना प्रतिनिधि नियुक्त नभएमा वा उपस्थित नभएमा वा निजले गर्नुपर्ने कार्य नगरेमा सोही व्यहोराको मुचुल्का गरी कुनै उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि उपस्थित भएकोमा निजहरूको र कुनै पनि उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि उपस्थित नभएमा वा उपस्थित भए पनि सहीछाप नगरेमा उपस्थित अन्य व्यक्ति तथा कर्मचारीको सहीछाप गराई मतगणना कार्य अघि बढाउने,
= मतगणना र सोको अद्यावधिक परिणाम राजनीतिक दल, उम्मेदवार, आमनागरिक, मतदाता एवम् सञ्चारकर्मीहरु समेतको चासोको विषय हुने भएकाले आवश्यकता अनुसार समय–समयमा मतगणनाको अद्यावधिक परिणाम सार्वजनिक गर्ने व्यवस्था मिलाउने,
= मतगणनासम्बन्धी समाचार संकलन, सम्प्रेषणका लागि मतगणनाको दृश्य खिच्न चाहने सञ्चारकर्मीलाई मतगणना कार्यको व्यवस्थापन र सुरक्षा व्यवस्था कायम गर्न बाधा नपर्ने गरी मतगणना स्थलको निश्चित दूरीबाट मतगणनाको दृश्य खिच्न सक्ने । तर कुनै मतपत्रमा कुन निर्वाचन चिह्नमा मत संकेत भएको छ सो दृश्य खिच्न तथा मतगणना कार्यमा संलग्न कर्मचारी वा प्रतिनिधिको अडियो÷भिडियो बाइट लिन नदिने ।




प्रतिक्रिया