जुम्ला, १ पुस । जुम्ला प्रदेश ‘क’ का नवनिर्वाचित सभासद् नरेश भण्डारीले प्रदेश नम्बर ६ को सन्तुलित विकासका लागि ‘मौसमी राजधानी’ आवश्यक रहेको बताएका छन् ।
रिपोर्टर्सनेपालसँगको कुराकानिमा सभासद् भण्डारीले शासकीय सोचका कारण उत्पीडिनमा परेको कर्णालीलाई विकासको मूलप्रवाहमा ल्याउन प्रदेश नम्बर ६ मा ‘ग्रीष्मकालीन र शीतकालीन’ राजधानीको परिकल्पना अघि सारिएको बताए ।
उनले भने‘संघीयताको भ्रुण कर्णालीमा नै थियो, यसलाई जन्माउने, हुर्काउने हाम्रो काम हो, हामीले सिँहदरवार जनताको बीचमा ल्याएको हौँ भने यो प्रदेशको राजधानी जुम्ला नै हुनुपर्छ यदि सन्तुलित विकासको सिद्धान्तलाई मान्ने हो भने यो प्रदेशको राजधानी मौसिमी बनाउँनु पर्छ।’
उनले अघि थपे,‘कर्णाली खस सभ्यताको उद्गमस्थल पनि हो । भूस्वर्ग राराताल, फोक्सुण्डो, खर्बौं डलर बोकेर हिँडिरहेको नेपालको सबैभन्दा लामो नदी कर्णाली, यार्साजस्ता विश्वका सर्वाधिक महंगा जडीबुटी पाइने यो प्रदेश सम्भावनाको क्षेत्र हो ।’
माओवादी केन्द्रका नेता भण्डारीले दक्षिण भारतसँग नजोडिएको यो प्रदेशलाई उत्तरी चीनसँग जोड्न हुम्लाको हिल्सा, मुगुको नाक्चेलाग्ना र डोल्पाको धो मोरङ्लो नाका खोलिने बताए ।
प्रदेश नम्बर ६ जन्माउनुमा कर्णालीका शहीद हरिबहादुर कुँवरको प्रमुख भूमिका रहेको स्मरण गदै भण्डारीले उनको सपना पूरा गरिने वाचा गरेका छन् ।




प्रतिक्रिया