काठमाडौँ, ३ माघ (रासस) : सूचना तथा सञ्चार मन्त्रालयद्वारा आयोजित अनुगमन मूल्यांकन, मध्यकालीन खर्च संरचना तथा बजेट सम्बन्धमा आज यहाँ दुईदिने तालीम सम्पन्न भयो ।
समापनका अवसरमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राष्ट्रिय योजना आयोगले निर्धारण गरेको सीमाभित्र रहेर आगामी वर्षको बजेट तर्जुमा गर्नुपर्ने उल्लेख गर्दै बजेट सीमाभन्दा माथि जाने हो भने पनि स्पष्ट कारण खुलाएर प्रस्ताव प्रस्तुत गर्न आग्रह गर्नुभयो ।
खर्चको प्रभावकारिताले राजश्वलाई सहयोग गर्छ भन्दै उहाँले बजेट बनाउँदा संस्थाको प्राथमिकता, आन्तरिक सुधार, संस्था र सेवा प्रवाहजस्ता सुधारका कार्यक्रमलाई बढी महत्व दिन जोड दिनुभयो ।
मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठले योजनामै काम गरेका कर्मचारीको सरुवा हुँदा त्यस्तै प्रकृतिको कामका लागि भए उनीहरूको विशेषज्ञता पनि बढ्ने र बजेट निर्माणमा सहज हुने बताउनुभयो ।
सूचना तथा सञ्चार मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्यांकन शाखाका प्रमुख रुद्रादेवी शर्माले मध्यकालीन खर्च संरचनामार्फत बजेट निर्माण र योजना तर्जुमा गर्न सकिए बजेट कार्यान्वयनमा सहजता आउने बताउनुभयो ।
सो अवसरमा अर्थ मन्त्रालयका बजेट प्रविष्टि विशेषज्ञ ठेकु श्रेष्ठले एलएमबिआइएसमार्फत बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुमाथि व्यावहारिक प्रशिक्षण दिनुभएको थियो ।
तालीममा मन्त्रालय मातहतका विभाग, समिति, संस्थान तथा आयोगका नीति योजनासँग सम्बन्धित प्रमुखहरुको सहभागिता रहेको थियो ।




प्रतिक्रिया