एक साताभित्रमा काँग्रेस सरकारबाट बाहिरिन्छ : निधि


काठमाडौँ, २८ माघ  : नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले अबको एक साताभित्रमा काँग्रेस सरकारबाट बाहिरिने बताउनुभएको छ ।

नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको १०औँ केन्द्रीय महाधिवेशनको यहाँ आज उद्घाटन गर्दै पूर्वगृहमन्त्री निधिले संघीय संसद्ले पूर्णता पाएसँगै काँग्रेसले सरकार छोड्ने बताउनुभयो ।

नेता निधिले पार्टीका तर्फबाट समानुपातिकतर्फ निर्वाचित हुनेको नाम निर्वाचन आयोगमा पठाउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले दुग्ध विकास संस्थान धरासायी बन्दै गएकाले संस्थानको दूध उत्पादन र वितरण प्रणालीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेता निधिले संघीय शासन व्यवस्थाले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । (रासस)