कर अधिकृत भुसालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १ करोड ५८ लाख रुपैयाँ गैरकानूनी आर्जन गरेको ठहर


चैत ४, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्य कार्यालय भरतपुरमा कार्यरत प्रमुख कर अधिकृत टीकाराम भुसालबिरुद्ध भ्रष्ट्राचार मुद्दा दर्ता गरेको छ ।

भूसालले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी १ करोड ५८ लाख ६३ हजार रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको ठहर गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा विहीबार मुद्दा दर्ता गरेको हो ।

भूसालले सार्वजनिक पद धारण गरे पछि ०७२ माघ मसान्तसम्मको जाँच अवधिका विभिन्न बर्षहरुमा आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको नाममा खरिद एवं लगानी गरेको चल–अचल सम्पतिहरुमाथि छानविन गर्दा उक्त रकम बरारबरको सम्पतिको स्रोत नखुलेको आरोपमा उल्लेख छ ।

‘भुसालले निजलगायत निजको श्रीमती तथा छोराछोरीहरुको नाममा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा मौज्दात देखिएको, बीमालगायत विभिन्न कम्पनीहरुका शेयर खरिद तथा लगानी गरेको, जग्गालगायतका चलअचल सम्पतिहरु खरिद गरेको देखिन आएको छ’ अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले स्रोत नखुलेको १ करोड ५८ लाख ६३ हजार ६ सय ५७ रुपैयाँ विगो कायम गरी भ्रष्ट्राचार निवारण ऐन अनुसार मुद्दा दर्ता गरेको हो । अख्तियारले उक्त रकम जफत गरी पाउनसमेत माग गरेको छ ।

यसका अतिरिक्त भूसालले सार्वजनिक सेवाको पदमा रहेर गैरकानूनी रुपमा आर्जन गरी, स्रोत पुष्टी हुन नसकेको सम्पतिहरु निजको श्रीमती मुनादेवी घिमिरेको नाममा राखेको तथा बढे बढाएको देखिएकाले उक्त रकमसमेत जफत गर्न अख्तियारले मागदावी गरेको छ । उनले श्रीमतीको नाममा रहेको चल–अचल सम्पतिहरु जफत गर्ने प्रयोजनको लागि उनलाई समेत प्रतिवादी बनाई मुद्दा दायर गरिएको छ ।