चैत २१, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले पार्टी एकताका लागि थोरै विवाद भए पनि एकता नहुने तहसम्म विवाद नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले चुनाव चिन्हको विवादले एकता नअड्किने दाबी गर्दै नमिलेका कुरा महाधिवेशनले टुङ्ग्याउने बताए ।
जनयुद्धका विषयमा पनि ठूलो विवाद नभएको उनको भनाई छ । मार्गनिर्देर्शक सिद्धान्तका विषयमा कसरी जाने भन्ने विषयमा भने सहमति भइनसकेको गुरुङले बताए ।
“माओवाद, बहुदलीय जनवाद, क्रान्तिको मोडल भविष्यमा कुन ढंगले समृद्धिकरण गर्ने भन्ने विषय लगायतका बारेमा छलफलकै विषयका रुपमा राख्ने भनेर पहिले नै सहमति भएको छ । अरु खास विवाद छैन ।” गुरुङले भने ।
छलफलका विषयलाई एकता महाधिवेशनले टुङ्गो लगाउने सहमति भएको उनको दाबी छ ।
चुनावका बेला प्रतिशतका आधारमा गठबन्धन भए पनि एकताका क्रममा भने गणीतिय हिसाबले भागबण्डा नगरिने गुरुङको भनाई छ । “सामान्यतया एकआपसमा सम्मानजनक ढंगले एकता गर्ने हो । यस विषयमा नेताहरुले छलफल गरेर टुङ्गो लगाउनुहुन्छ ।” उनले भने ।




प्रतिक्रिया