महाकालीमा किनारमा अन्त्येष्टि घाट बनाउने सम्झौता

0
Shares

कञ्चनपुर, १ साउन । भीमदत्त नगरपालिका–१२ महाकाली तटीय क्षेत्र ऐरीमा दाहसंस्कारका लागि अन्त्येष्टिघाट बनाउने प्रक्रिया अगाडि बढेको छ ।

अन्त्येष्टि घाट बनाउनका लागि रु तीन करोडमा ठेक्का सम्झौता गरिएको छ । शनिदेव निर्माण सेवा कम्पनीसँग घाट निर्माणका लागि ठेक्का गरिएकाले असोज महिनादेखि कार्य शुरु हुने शहरी डिभिजन क्षेत्रीय कार्यालयका प्रमुख रवीन्द्र बोहराले बताउ । सम्झौता भएदेखि डेढ वर्षमा कार्य सकिने घाटमा एकै पटक छवटासम्म शव जलाउन सकिने गरी डिजाइन तयार गरिएको छ ।

घाट महाकाली नदीमा बन्न लागेको छलेनको पुलको पूर्व भागसँग जोडिएको क्षेत्र भुजेलामा नदी र छलेनको बाटोको बिचमा निर्माण हुने बोहराले बताए । उनका अनुसार घाटमा वर्षायाममा पानी धेरै आउने भएकाले उक्त समयका लागि अग्लो स्थानमा जलाउने र हिउँदमा पानी कम हुने भएकाले सिँढीमार्फत तल गएर अलि गहिरो पानी भएको ठाउँमा जलाउन सकिने गरेर डिजाइन तयार पारिएकोले अब शव जलाउन तथा घाटको समस्या नहुने भएको छ ।

घाटको संरचना ५० मिटर लम्बाइ र २५ मिटर चौडाइमा रहने छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले अन्त्येष्टि घाट निर्माणका लागि रु चार करोड ५० लाखको ठेक्का आह्वान गरेको थियो ।तीन वर्षसम्म सञ्चालन हुने सघन शहरी विकास कार्यक्रमअन्तर्गतका महाकाली नदीमा अन्त्येष्टि घाट निर्माण पहिलो नम्बरमा राखिएको छ ।

शाखाका इञ्जिनियर गोरखबहादुर सिंहले गुरुयोजना बनाएर अन्त्येष्टि घाट निर्माणका लागि ठेक्का गरिएको जनाएका छन। चारैतिर पर्खाल हुने घाटमा खुला र टिनका छाना भएका चारचार घर हुने गुरुयोजनामा उल्लेख गरिएको छ । यसैगरी, हरियाली, आवतजावत गर्ने बाटो, नदी रोक्न पर्खाललगायतका संरचना निर्माण गर्ने योजना छ ।

महाकाली परमधाम शान्तिघाट जिल्ला समितिका अध्यक्ष तारादत्त जोशीले घाट निर्माणका लागि ठेक्का सम्झौता गरिएपछि वर्षौंदेखिको सपना पूरा हुन लागेको जनाए ।भारतीय सीमा सुरक्षा बल एसएसबीले शारदा ब्यारेज नजिक नदीमा दाहसंस्कारमा अवरोध गर्न थालेपछि जोशीलगायतले घाट निर्माणका लागि अभियान चलाएका थिए ।

घाट निर्माणका लागि ब्रह्मदेव, झोलुंगे पुल, ओदालीलगायतका अन्य स्थानलाई सम्भाव्य क्षेत्रका रुपमा हेरिएको थियो । घाट निर्माणको कार्यलाई नगरको गौरवको योजनाअन्तर्गत समेत राखिएको छ । रासस

Skip This