काठमाडौं, ६ साउन । युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा फराकिलो जित निकालेको छ। कप्तान पारस खड्काको शतकीय इनिङ्सको मद्दतमा नेपालले पहिलो अभ्यास खेलमा इङ्ल्याण्डको स्थानीय क्लब ह्यामसायर होग्सलाई २ सय ४३ रनले पराजित गरेको हो।
३ सय ६३ रनको लक्ष्य पछ्याएको ह्यामसायर ३७ दशमलव १ ओभरमा १ सय १९ रनमा समेटिएको थियो। ह्यामसायरका ह्यारी फिसलले सर्वाधिक ३३ रन बनाएका थिए। अर्चेट नाइट र टोम बाउचरले समान २२ रन बनाएका थिए। माइल्स कभेरले १८ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।
ह्यामसायरको इनिङ्स ध्वस्त पार्ने क्रममा ललित राजवंशीले कसिलो बलिङ गर्दै १० ओभरमा ४ ओभर मेडन फाल्दै ३४ रन दिएर ५ विकेट लिए । सन्दिप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिए। बाँकी एक विकेट करण केसीको नाममा रह्यो । यसअघि, सुरूवाती व्याटिङ गरेको नेपालले कप्तान पारस खड्काको शतकीय इनिङ्सको मद्दतले ३ सय ६२ रन बनाएको थियो।




प्रतिक्रिया