भदौ १७, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले विमस्टेक सम्मेलन सरकारको सफलतासँग जोडिएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रिमालले विमस्टेक सम्मेलनले विश्वमा नै सरकारको सकारात्मक सन्देश प्रवाह गरेको दावी गरे । नेपालमा स्थिर सरकार छ भन्ने सन्देश पनि गएको उनको तर्क छ ।
सम्मेलनले दक्षिण एसियाली र दक्षिण पूर्वी एसियाली राष्ट्रहरुबीचको सम्बन्ध थप मजबुत बनाएको उनको भनाई थियो । विमस्टेकमा आवद्ध राष्ट्रहरुमध्ये समुद्रसँग जोडिएका र पहाडसँग जोडिएका राष्ट्रहरुबीच पर्यावरणीय सन्तुलनको विषयमा विश्वासको वातावरण बनेको रिमालको भनाई छ ।
विमस्टेकमा आवद्ध विकसित राष्ट्रबाट नेपालले फाइदा लिनुपर्छ भन्ने कुरामा सरकार स्पष्ट रहेको उनले बताए । यद्यपी अहिलेसम्म भने विमस्टेकको प्रभावकारिता जति हुनु पर्ने हो त्यति नभएको उनले बताए ।
सम्मेलनमा आएका विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखहरुले पनि यसपटकको सम्मेलन प्रभावकारी भएको प्रतिक्रिया दिएको रिमालले बताए । अहिलेसम्म विमस्टेकको बडापत्र नै नभएको उल्लेख गर्दै उनले यसपटक बडापत्रको प्रारुप तयार गरिएको बताए । पाँचौ शिखर सम्मेलनमा बडापत्र पारित हुने उनको भनाई थियो ।




प्रतिक्रिया