काठमाडौं, २ असोज । तेस्रो संविधान दिवस मनाइदैछ । तर मधेश केन्द्रित दलहरुले दिवस बहिस्कार गर्दै कालो दिवसका रुपमा मनाउने भएका छन् । संविधान संशोधन गर्न माग गर्दै सरकारलाई दबाब दिइरहेका राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले कालो दिवसको रुपमा मनाउने तयारी गरिरहँदा सरकारले भने विशेष कार्यक्रमको आयोजना गरेको छ ।
मधेश केन्द्रीत दलले संविधानको प्रस्तावनामा असन्तुष्टी जनाउँदै संशोधनको माग गर्दै आएको तीन वर्ष पूरा भएको छ । तर संविधान संशोधन हुन सकेको छैन । संविधान जारी भएकै दिन कालो दिनको रुपमा मनाएका मधेशवादी दलले हरेक वर्ष संविधान दिवसका दिन ब्ल्याक आउट गर्ने गरेका छन् । यस वर्षको संविधान दिवसका दिन भोली पनि उनीहरुले कालो दिवसकै रुपमा मनाउने तयारी गरेका छन् । संविधान संशोधनको माग यथावत राखेपनि संघीय समाजवादी फोरम भने सरकारमै सहभागि छ भने राजपाले समर्थन गरेको छ । फोरमकाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री सहित सरकारमा छन् ।
तर सत्तामै रहेर पनि फोरमले संविधान दिवसलाई कालो दिनकै रुपमा मनाउने भएको छ । सत्तामा पनि बस्ने र संविधान दिवस पनि नमनाउने दोहोरो चरित्रका कारण सरकार संविधान संशोधनबारे वेवास्ता गर्न सहज भएको छ । तर राजपाका सहमहामन्त्री राकेश मिश्र सरकारले संविधान संशोधन गरिदिने भनेर प्रतिवद्धता जनाएका कारण आफ्नो दलले समर्थन गरेको भएपनि सरकारले धोका दिएको आरोप लगाउँछन् । सहमहामन्त्री मिश्रका अनुसार राजपाले अव सरकारलाई समर्थन गर्नुको कुनै औचित्य छैन ।
मधेश केन्द्रीत नेताहरुको ब्यतिmगत स्थार्थ, प्रलोभन, आस तथा त्रास र सत्ता मोहका कारण नेताहरुले मधेशको मुुद्धालाई ठगी खाने भाडो बनाएको एक थरि मधेश सम्वन्धि विष्लेसकहरुको भनाइ छ ।
संविधानको प्रस्तावनामा मधेश आन्दोलन राख्नु पर्ने, जनआन्दोलन र शसस्त्र संघर्ष पछाडी मधेश आन्दोलन थप्नु पर्ने, आत्मसनर्णयको अधिकार प्रादेशिक सरकारमा निहित हुनुपर्ने, झापा, मोरङग र सुनसरीलाई प्रदेश नम्वर २ मा राख्नु पर्ने, निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्वाचन क्षेत्रको पुनरावलोकन हरेक १० वर्षमा गर्नु पर्ने लगायतका माग उनीहरुले अघि सारेका छन् ।
त्यसैगरी न्यायधिस नियुतिm समानुपातिक र समावेशी गरिनुपर्ने, राष्ट्रिय सुरक्षा परिषदमा प्रत्येक प्रदेशका मुख्यमन्त्रीलाई सदस्य रहने ब्यवस्था गर्नुपर्ने, एक पटकलाई सेनामा मधेसी समुदायको सामुहिक प्रवेश गराउनुपर्ने लागाएतका संशोधन प्रस्ताव पेश गरेका थिए । तर तत्कालिन संविधान सभाको बहुमतले उनीहरुका अधिकाँस माग पुरा गर्न नसकिने भन्दै नयाँ संविधान जारी गरेपछि मदश केन्द्रीत दल आन्दोलनमा होमिएका थिए ।
संविधान जारी भएको तीन वर्ष पूरा हुँदासम्म पनि यस्तै अलमलमा रहिरहनुले जनताको चाहनाभन्दा पनि नेताहरुको चाहना हावी भएको देखिएको छ ।।
राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने जानकारी दिएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले संबिधान दिवसका दिन देशैभरि विभिन्न जिल्लामा प्रर्दशन गर्ने र बेलुका केही समय ‘ब्ल्याक–आउट’ गर्ने जानकारी दिए । संविधान जारी हुँदासम्म सयौं जनताले सहादत प्राप्त गरेको र अहिलेपनि सयौंको संख्यामा आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरु घाईते, अपांग भएर अस्पतालमा बस्न बाध्य भएको बताउँदै उनले अहिलेपनि सयौं जनामाथि सरकारले झुठो मुद्दा चलाएको आरोप लगाए ।
नेता कर्णले सरकारले अहिलेसम्मपनि संविधान संशोधनको लागि कुनै तयारी नै नगरेको गुनासो गरे । फरक प्रसँगमा उनले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे दशैं तिहारपछिमात्रै ठोस निर्णय लिने बताए ।
साक्षात्कारमा कांग्रेसका नेता रमेश लेखकले वर्तमान सरकारका क्रियाकलापहरुबाट जनता निराश बनेको बताए । उनले संविधानले राजनीतिक, समाजिक, साँस्कृतिक रुपमा परिवर्तनकारी भूमिका खेल्न सफल भएको तर्क गरे ।
त्यस्तै नेकपाका सांसद शेरबहादुर तामाङले संविधानमा भएका त्रुटीहरु सच्याउनको लागि आफूहरु तयार रहेको स्पष्ट पारे । नेता तामाङले अहिले संविधान संशोधन गर्ने बुँदाहरु कम भएको बताएका छन् ।
साक्षात्कारमा संघीय समाजवादी फोरम नेपालका नेता एवम् सांसद प्रदीप यादवले २ नम्बर प्रदेशमा आफ्नो पार्टीका नेता मुख्यमन्त्री रहेकोले भोलि प्रदेश सभामा मनाउने संविधान दिवसमा सहभागी नहुने बताए ।




प्रतिक्रिया