काठमाडौं, १२ असोज । फरक–फरक कथाका तीन फिल्म आजबाट अल नेपाल रिलिज भएका छन् । प्रेमकथाको ‘अनुराग’, काठमाडौं बाहिरबाट काठमाडौं आई संघर्षरत तीन फरक जोडी पात्रको कथा प्रस्तुत गरिएको ‘कथा काठमाडौं’ र बहुपति प्रथामा आधारित फिल्म ‘छिरिङ’ले शुक्रबारबाट एकसाथ प्रदर्शन थालेका छन्।
अहिलेसम्मको आँकडा हेर्दा तीन वटा चलचित्रमध्ये अनुरागको व्यापार आक्रमक रहेको बुझिएको छ । काठमाडौंको बालाजुस्थित् बिजी मलमा भने अनुराग हेर्न युवा पुस्तादेखि ९२ वर्षीय बृद्धपनि पुगेका छन् ।
धादिङ्ग ज्यामरुङ निलकण्ठ वडा नम्बर ११ का ९२ वर्षीय बुद्धिप्रसाद धमला लौरो टेकेरै पत्रकार ऋषि धमलाले निर्माण गरेको चलचित्र भएकोले अनुराग हेर्न हलमै पुगेका थिए । उनलाई देखेर अरु दर्शकहरु अचम्मित भएका थिए ।
हलमा संक्षिप्त प्रतिक्रिया दिँदै बुद्धिप्रसादले भने,‘ऋषि बाबुले बनाएको चलचित्र भएकोले म हेर्न हलमै आएँ । यो फिल्म सफल हुन्छ । देशभरिका जनताले हेर्नुपर्छ । अहिलेको पुस्तालाई केन्द्रविन्दु बनाएर निर्माण गरिएको चलचित्र भएकोले सबैलाई हलमै गएर यो चलचित्र हेर्न आग्रह गर्दछु ।’
सांगीतिक प्रेमकथा बनाईएको ‘अनुराग’ लाई अहिलेको युवा पुस्ताले रुचाएको पत्रकार धमलाले जानकारी दिए । फिल्ममा धमलाकी श्रीमती एलिजा गौतम र नायक समुन्द्र पण्डितको शीर्ष भूमिका छ । एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन्।
निर्देशक सत्यराज चौलागाईको पनि ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन्।




प्रतिक्रिया