निर्मला पन्तबारेको प्रतिवेदन सरकारले लुकायो, फेरी आन्दोलन चर्कियो


काठमाण्डौ/कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न बनेको समितिले ९ गने गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनलाई सरकारले गुपचुप राखेको छ ।

प्रतिवेदन सार्वजनिक गर्न चौतर्फी दबाब सृजना भए पनि सरकार भने मौन छ । अध्ययन प्रतिवेदन सार्वजनिक गरि दोषिलाई कारवाहीको माग गदै राजधानीको माईतीघर मण्डलामा नागरिक दबाब कार्यक्रम गरिएको छ ।

निर्मला पन्तको बलात्कार र हत्याबारे छानविन गर्न बनेको सरकारी टोलीले प्रतिवेदन सरकारलाई बुझाएको चार दिन भइसकेको छ । तर प्रतिवेदन सार्वजनिक भएको छैन । कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका पन्तको हत्याबारे छानबिन गर्न बनेको हरिप्रसाद मैनालीको संयोजकत्वको टोलीले गृहमन्त्री रामबहादुर थापालाई सुटुक्क प्रतिवेदन बुझाएको हो ।

अनुसन्धानमा खटिएको प्रहरीको भूमिका शङ्कास्पद देखिएर अनुसन्धान अगाडि नबढेपछि गृह मन्त्रालयले भदौ ७ गते मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । पन्तको बलात्कार पछि हत्या घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरि दोषिलाई कारवाहीको माग गदै राजधानीको माईतीघर मण्डलामा नागरिक दबाब कार्यक्रम गरिएको छ ।

निर्मला पन्तको न्यायका लागि स्वतः स्फुर्त रुपमा सनिबार राजधानीको माईतिघर मण्डलामा भेला भएका नागरिक अभियन्ताहरुले घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे । घटनाको दुई महिना भईसक्दा पछि दोषी पत्ता नलाग्नु र छानविन समितिको प्रतिवेदन पनि सार्वजनिक नगर्नुले सरकार अपराधीको संरक्षणमा लागेको प्रमाणित भएको भन्दै उनीहरुले गृहमन्त्री र सरकार विरद्ध नाराबाजी गरे ।

छानविन प्रतिवेदन सार्वजनिक गरि दोषीलाई कारवाही गर्नुको साथै मुलुकभरका महिला हिंसाका घटना न्युनिकरणको माग सहितको प्लेकार्ड लिएर भेला भएका युवा अभियन्ताहरुले देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिए ।

समितिले प्रतिवेदनमा घटनाको वस्तुस्थिति, स्थानीयवासीको भनाइ, प्रहरी अनुसन्धानमा भएका कमीकमजोरीलाई समावेश गरेको बताइएको छ । तर दोषी को हो भन्ने विषय नखुलाइएको आशंका गरिएको छ । दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सर्वत्र विरोध भए पनि सरकारले ठोस कदम चाल्न सकेको छैन ।

एसपि विष्टको डिएनए रिर्पोट आएको ३ दिन वितिसक्दा समेत सार्वजनिक भएन

उता कञ्चनपुरमा पनि महिला अधिकारकर्मीले प्रतिवेदन सार्वजनिक माग गर्दै आन्दोलन सुरु गरेका छन् ।

अधिकारकर्मीहरुको समुहद्धारा गठित नागरिक संघर्ष समितिले भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको भेटघाट चौतारीमा रिले अनसन थालेका छन् । घटना भएको दुई महिना बितिसक्दा पनि वास्तबिक हत्यारा पहिचान नभएकाले बाध्य भएर पुनः आन्दोलन थालेको उनीहरुले बताएका छन् ।

प्रतिवेदन सार्वजनिक नहुन्जेलसम्म आन्दोलन जारी राख्ने उनीहरुको अडान छ । प्रहरीले एसपि डिल्लीराज विष्ट सहित ३ जनाको डिएनए रिर्पोट आएको ३ दिन वितिसक्दा समेत सार्वजनिक नगरेको उनीहरुको अरोप छ ।

निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले सरकारले न्याय दिनेमा आशंका उब्जिएकाले आन्दोलन नै गर्नुपरेको बताइन् ।

कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायतले एसपि डिल्लीराज विष्टसहित ३ जनाको डिएनए रिर्पोट समेत छिट्टै सार्वजनिक गर्ने आश्वासन दिएका छन् ।

घटनाबारे न्यारोडाउन विधिबाट अनुसन्धान भइरहेको कडायतले बताएका छन् ।