‘अनुराग’ हेरेपछि उपेन्द्र यादवले भने : ‘‘ऋषि धमला पत्रकारितामात्रै होईन, कलाकारितामापनि सफल’’

0
Shares

काठमाडौं, १६ असोज । उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पत्रकार ऋषि धमलाले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘अनुराग’ आज हलमै पुगेर हेरेका छन् ।

मंगलबार अपरान्ह ५ बजे सिटी सेन्टरस्थित् बिग मुभिजमा पुगेर मन्त्री यादवले अनुराग हेरेका हुन् । मुभी हेरेपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै यादवले भने,‘ऋषि धमला पत्रकारिताको मात्रै होईन, कलाकारिताको पनि हिरो हुनुभयो ।’

उनले युवा पुस्ताहरुले यो चलचित्रलाई मन पराउने विश्वास व्यक्त गरे । धमलालाई देखाउँदै यादवले भने,‘उहाँको यो पहिलो प्रयासलाई म धन्यवाद भन्न चाहन्छु, एउटा सञ्चारकर्मीले नेपाल चलचित्र जगतमा यसरी हात हाल्नु सबैको लागि खुशीको कुरा हो । उहाँ आगामी दिनमा सफल हुनुहुन्छ ।’  यादवले आफू हलमै आएर फिल्म हेरेको यो पहिलो चलचित्र भएको पनि प्रतिक्रिया दिए ।

सांगीतिक प्रेमकथा बताइएको ‘अनुराग’ शुक्रबार रिलिज भएको हो । पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी श्रीमति एलिजा गौतम र नायक समुन्द्र पण्डितको शीर्ष भूमिका छ । एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन्।

निर्देशक सत्यराज चौलागाईको  पनि ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन्।