देउवालाई हटाउने अभियानमा महामन्त्री कोइराला

0
Shares

काठमाडौं १९ असोज । कांग्रेसका महामन्त्री शसांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई आउँदो महाधिवेशनबाट सभापति पदबाट हटाउने बताएका छन् । विराटनगरमा बिहीबार पत्रकारसँग कुरा गर्दै उनले सभापति देउवाको कार्यशैली प्रभावकारी नभएकाले पार्टी जोगाउन सशक्त नेतृत्वको आवश्यकता भएको बताएका हुन्।

‘पार्टीले निर्वाचनमा हार बेहोर्नु र पार्टी अहिलेको स्थितीमा आउनुको सम्पूर्ण दोष सभापति देउवालाई नै म दिन चाहन्न,’ उनले भने, ‘उहाँको नेतृत्वमा म पनि महामन्त्री भएकाले त्यसको नैतिक जिम्मेवारी म लगायतका पार्टीका अन्य सदस्यले पनि लिनुपर्छ।’

कोइरालाले पार्टीको अगामी नेतृत्वको बारेमा देशभरको भावना बुझेर निर्णय लिने बताए। ‘सभापतिको दाबेदार आफू लगायत तीन कोइरालाका साथै अन्य नेताहरुको पनि रहेको छ,’ उनले भने, ‘तर देशको भावना अनुसार तीन कोइरालामध्ये एकले नेतृत्व लिन सक्छ।’

उनले पार्टीले निर्वाचनमा हार बेहोर्नुमा दोषी देखिएकाहरुमाथि कारबाही गर्नका लागि अनुभवी व्यक्तिको नेतृत्वमा अनुशासन समिति गठन गर्नुपर्ने बताए।

उनले सभापतिलाई मजबुत बनाउन पार्टीको प्रस्तावित विधान मस्यौदामा गरेको प्रस्ताव उचित नभएको बताए। ‘सभापति अधिकार सम्पन्न भए सबैलाई पेलेर एकल निर्णय गर्दै तानाशाही बन्न सक्छ,’ उनले भने, ‘त्यसैले सभापतिका साथै अन्य पदाधिकारीमा अधिकार विकेन्द्रित गरेर चेक एण्ड ब्यालेन्सको अवस्थामा राख्नुपर्छ।’ उनले एक अर्को प्रसंगमा देश बिखण्डनको नारा दिइरहेका सिके राउतलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । कान्तिपुरबाट