असोज २१, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले नेताहरुबीचमा विवाद नभएको दावी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रिमालले संचारमाध्यममा आएजस्तो विवाद र चर्काचर्की नभएको जिकिर गरेका हुन् ।
नेताहरुबीचमा संवाद भइरहेको दावी गर्र्दै रिमालले विवाद हुनुपर्ने विषय नभएको उनको भनाई छ । प्रधानमन्त्री ओली विदेश भ्रमणमा रहेका बेला नेता माधवकुमार नेपालले देश डुब्न लाग्यो, सरकारको काम प्रभावकारी भएन भनेर संसदमा भनेको विषयलाई रिमालले ठूलो विवाद बनाउन नहुने बताए ।
कतिपय विषयमा सरकारले प्रभावकारी ढंगले काम गर्नुपर्छ भन्ने आग्रहलाई विवादको रुपमा लिन नहुने रिमालको भनाई छ ।
ओलीसँगै अमेरिका भ्रमणमा रहेका रिमाल र नेपालमै रहेका नेता योगेश भट्टराईबीच टुइटमै आरोप प्रत्यारोप भएको थियो । यस विषयमा धमलाले प्रश्न गर्दा रिमालले भने, “टुइट सुइटका विषयमा जान आवश्यक छैन । सबैले आफ्ना विचार लेख्ने हो । साथीहरु किन उम्लिनुहुन्छ ? किन पोखिनुहुन्छ त्यो मलाई थाहा छैन ।”
टुइटमा लेखिएको विषयलाई समाचार बनाउनु गलत भएको भन्दै उनले अरु विषय नपाएर आफूहरुको टुइटमा राखिएका विचारलाई नै समाचार बनाइएको आरोप लगाए ।
दलभित्रकै नेताहरुले सरकारको आलोचना गर्नु सरकारको काम प्रभावकारी रुपमा होस् भन्ने चाहना भए पनि केही साथीहरुले कुरा नबुझी आलोचना गर्ने गरेको रिमालको भनाई छ ।
अहिले सरकारको आलोचना गर्ने समय नभएको बताउँदै रिमालले सरकारले राम्रा काम गरिरहेको दावी गरे ।




प्रतिक्रिया