वामदेव गौतम मौकामा चौका हान्ने तयारीमा !

0
Shares

काठमाडौं, २७ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता वामदेव गौतमले राजनीतिमा धेरैपटक हारेर पनि जितेका छन् । ०७४ साल मंसिरमा सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा नेता गौतम बर्दिया क्षेत्र नम्बर १ बाट कांग्रेस नेता सञ्जयकुमार गौतमसँग पराजित भएपछि उनको चर्चा तथा परिचर्चा भएको थियो ।

उनको हारलाई धेरैले विश्वास नै गर्न सकेनन् । देशभरि एमाले–माओवादी केन्द्र गठबन्धनको ह्विम चलेको बेला वामदेव हार्नु धेरैको लागि पत्यारलाग्ने कुरै थिएन् ।  नेपाली राजनीतिमा नेता वामदेवले धेरैपटक हारेका छन् । चाहे पार्टी फुटाउँदा होस् या तत्कालिन् गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार छोड्दा नै किन नहोस् । राजनीतिक जीवनमा उनले मुलुकको तर्फबाट धेरै सन्धि, सम्झौता गरेका छन् । वामदेव नेपाली राजनीतिका हस्ती नै हुन् ।

उनले धेरै आरोह–अवरोह गरेका छन् । तर, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान जारी गर्दासम्म उनले महत्वपूर्ण योगदान गरेका छन् । उनको योगदानको जति नै चर्चा गरेपनि कमै हुन्छ । नेता गौतमलाई संविधान सभाबाट संविधान जारी गर्नुपर्छ भनेर पार्टीभित्र बोल्ने पहिलो नेताको रुपमा पनि चिनिन्छ ।

नेपाली राजनीतिकै कुरा गर्दा उनले धेरै नेतालाई प्रधानमन्त्री पनि बनाए । पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा ओली, झलनाथ खनालदेखि लोकेन्द्र बहादुर चन्दसम्मलाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । तर, उनलाई भने अहिलेसम्म प्रधानमन्त्री बनाउनको लागि सार्वजनिक रुपमै प्रतिबद्धता गर्ने नेता प्रचण्ड हुन् ।

प्रचण्डले संसदमै पनि वामदेवलाई प्रधानमन्त्री बनाउँछु भनेर घोषणा गरेका थिए । सोही, अनुसार प्रचण्डले उप–निर्वाचनमार्फत वामदेवलाई प्रतिनिधि सभामा ल्याउनको लागि काठमाडौं क्षेत्र नम्बर ७ का निर्वाचित सांसद रामबीर मानन्धरलाई राजिनामा गराउन पहल गरेका थिए। त्यसैअनुरुप मानन्धरले काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफूले राजिनामा पार्टीमा बुझाएको जानकारी गराएका थिए ।

तर, पार्टीभित्र र बाहिर दुवैबाट चौतर्फी आलोचनापछि गौतम काठमाडौं–७ बाट चुनाव नलड्ने भएका छन् । गौतमलाई सांसद बनाउन मानन्धरले पद छाड्न तयार रहेको पत्र सचिवालयमा बुझाएका थिए । लगतै सांसद मानन्धरले सार्वजनिक रुपमै राजीनामा दिने घोषणा गरे । यस विषयमा अहिले कुनै निर्णय नभएको भन्दै शीर्ष नेताहरुले समेत वामदेवको बचाउ गरे ।

आज बस्ने भनिएको (नेकपा)को सचिवालय बैठक पुनः सरेको छ । आजको सचिवालय बैठकमा नेता गौतम उपचुनाव लड्ने वा नलड्नेबारे छलफल हुने बुझिएको थियो । तर, आज बस्ने भनिएको सचिवालय बैठक कात्तिक ४ र ५ गतेका लागि सारिएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् । नेकपाको लगातार यो दोस्रो पटक बैठक सारिएको हो ।

उनले शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको बताएपनि खास कुरा त्यो नभएको स्रोतको दाबी छ । बैठकको समय र स्थान भने तोकिएको छैन । यसअघि गत बुधबार डाकिएको सचिवालय बैठकसमेत सारिएको थियो ।

दशैंलगत्तै बस्ने बैठकमा वामदेव उपनिर्वाचन लड्ने विषयमा पनि छलफल हुन सक्ने बुझिएको छ । त्यसो भयो भने वामदेवले अर्को चमत्कार गर्न बेर लगाउँदैनन् ।

यो पनि पढ्नुहोस् :

https://reportersnepal.com/2018/10/277573.html