टिकटमा कालो बजारी भएको प्रमाण देखाउन यातायात व्यवसायीको चुनौति


असोज २८, काठमाण्डौ । दशैँका लागि काठमाण्डौबाट घर जानका लागि बाहिरिनेहरुको संख्या दैनिक एक लाखभन्दा बढि छ । तर कतिपय यात्रुले घर जानका लागि निकै कष्ट भोग्नुपरेको छ ।

टिकटमा कालोबजारी गर्नेहरुले यात्रुलाई ठगिरहेका छन् । ट्राफिक प्रहरीले यात्रु ठग्न नदिनेका लागि विभिन्न योजना ल्याए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । अर्कोतिर यातायात व्यवसायीले पनि यात्रु ठग्ने काम नगरेको दावी गरिरहेका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले काठमाण्डौ उपत्यकाबाट बाहिरिने यात्रुलाई कुनै समस्या नरहेको दावी गरे ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कर्माचार्यले सबै यात्रुहरु व्यवस्थित तरिकाले घर गइरहेको दावी गरेका हुन् ।

टिकटमा कालोबजारी भयो भन्ने आरोप झुटो भएको दावी गर्दै उनले भने, “कहाँ कालो बजारी भएको छ देखाउनुस्, हिजोका दिनमा जस्तो कालोबजारी छैन । कहीँ देख्नुभयो भने देखाउनुस्, हामी कारबाही गर्छौँ ।”

लामो दुरीका सडकहरु अस्तव्यस्त भएकाले सवारी साधन चलाउन भने निकै समस्या भएको उनले बताए ।