काठमाडौं, २८ असोज । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता डा. शिवजी यादवले अझैपनि समय बाँकी रहेकोले संविधान संशोधन हुनेमा पार्टी आशावादी रहेको स्पष्ट पारे ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘सरकारले आफूहरुको माग सम्बोधन गर्न सक्दैनौं भनेर भनिदिएको भए हामीले यतिवेला सरकार छोडि सकेको हुन्थ्यौं । तर, समय बाँकी छ । संविधान संशोधनको लागि २ बुँदे सम्झौता गरेर हामी सरकारमा गएका छौं ।’
संविधान संशोधनको लागि प्रक्रियागत हिसाबले आफूहरु अगाडि बढ्नको लागि सरकारले जसरी गृहकार्य गर्नुपर्ने थियो त्यसमा जान नसकेको गुनासो पोखे । उनले भने,‘संविधान संशोधनको लागि सरकार जसरी होमर्वकमा जानुपर्दथ्यो, त्यसमा जान नसकेको कुरा सर्वविदितै छ। तर, कारण के भने दुइ तिहाईले संविधान संशोधन त गर्न सक्छ । अब संशोधन गरिसकेपछि सकभर आन्दोलनबाट उठेका मुद्दाहरु थिए । त्यसका साथसाथै यो बीचमा अझै कति देखा परेका छन् । ती सबै समष्टिगत रुपमा एकैपटक संशोधन गरेर जाने की भन्ने भावना प्रधानमन्त्रीजीको छ भन्ने भान हामीलाई परेको छ।’
प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्दिन भनेर अहिलेसम्म नभनेको बताउँदै नेता यादवले थपे,‘प्रधानमन्त्रीले त संविधान संशोधन गर्छु भन्नुभएको छ । हाम्रा आन्दोलनबाट उठेका माग र मुद्दाहरु छन्, त्यो साथसाथै अझै यो संविधान कार्यान्वयनको सन्दर्भमा देखिने सबै समस्याहरु, ती सबै समेटेर र सबै पक्षलाई सहमत गराएर यसमा संशोधन गराउँ भन्ने पक्षमा हुनुहुन्छ । तर, दुःखको कुरा के भनेदेखि, यो समय घर्किँदै जाँदा केही राज्य सञ्चालनको सन्दर्भमा कमिकमजोरी देखिएको छ । उहाँको पार्टीभित्रको केही असन्तुष्टिहरु देखिएका छन् । त्यो सबै कुराले हुन सक्छ प्रधानमन्त्रीले अहिले सबैलाई मिलाएर अघि बढाउने हिसाबले अहिले अघि बढ्न सक्नुभएको छैन होला ।’
तिहारपछि पनि संविधान संशोधन नभए बाध्य भएर सरकारबाट समर्थन फिर्ता लिने उनको चेतावनी दिए । उनले भने,‘तिहारपछि पनि प्रधानमन्त्री संविधान संशोधनको लागि यदि ठोस रुपमा अगाडि बढ्नु भएन भनेदेखि हामीले पनि बाध्य भएर सोच्नुपर्ने अवस्था आउँछ । त्यसपछि हामीले केही भनौंला ।’
यादवले सरकार सञ्चालनको विषयमा टिप्पणी गर्दै भने,‘अहिले सबै कुरा भनेजस्तो नभएपनि कम्तिमा लामो समयदेखि द्वन्द्वरतलाई हामीले संविधान जारी गरेर शान्तिको बाटोमा लैजानको लागि संविधान जारी गर्यौं । तर, केही कुराहरु बाँकी रहे ।’




प्रतिक्रिया