असोज २९, काठमाण्डौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले सबै जनतालाई घोचेको तर्क गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै केसीले संघीय शाषन प्रणालीले नेपाल र नेपालीको हित गर्न नसकेको जिकिर गरेका हुन् ।
संघीय प्रणालीको कर असुल्ने प्रवृत्तिप्रति रुष्ट देखिएका केसीले च्याङ्ग्रा व्यापारीसँग पटक पटक कर लिइएको उदाहरण दिदै असन्तुष्टी व्यक्त गरे ।
“च्याङ्ग्रा व्यापारीले अहिले बुझेका छन् संघीयता के हो भनेर । चित्र बहादुर केसीले बुझाउन नसकेको संघीयता अहिले जनताले बुझ्दैछन् ।” केसीले भने ।
पछिल्लो समय देशमा हत्या र बलात्कारका घटना बढेको भन्दै केसीले सबै जनतालाई दशैँको उमङ्गले छुन नसकेको तर्क गरे ।
“बजारमा महङ्गी छ । पैसा हुनेले दशैँ मनाउँछन् । नहुनेले टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था छ ।” उनले भने ।
सरकारको कामप्रति असन्तुष्टी व्यक्त गर्दै केसीले संघीयताको मर्म अनुसार काम हुन नसकेको बताए । स्थानीय तहलाई विकास निर्माणका काम गर्नका लागि केन्द्र सरकारले बजेट उपलब्ध नगराएको केसीको दावी छ ।




प्रतिक्रिया