निर्मला प्रकरण : एसपी विष्ट र निरीक्षक भट्टलाई स्पष्टीकरणपछि बर्खास्त, अङ्गुर जोशीलाई उन्मुक्ति


कात्तिक ५, काठमाण्डौ । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा मुछिएका एसपी डिल्लीराज विष्ट बर्खास्तीमा पर्ने भएका छन् ।

सरकारले निलम्बनमा परेका तत्कालिन कञ्चनपुर जिल्ला प्रहरी प्रमुख एसपी बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त प्रकृया थालेको हो ।

एआइजी धिरु बस्न्यातको नेतृत्वमा गठित समितिले घटनाको अनुसन्धान बुझाएको रिपोर्टअनुसार प्रहरी प्रधान कार्यालयले दशैं विदा अगाडि नै गृह मन्त्रालयलाई विष्ट र भट्टको बर्खास्तको लागि पत्र लेखेको थियो । बर्खास्त गर्नु अगाडि गृह सचिवको नेतृत्व समितिले एसपीलाई स्पष्टीकरण सोध्नुपर्ने हुन्छ ।

गृह सचिव नेतृत्व समितिले विष्ट र भट्टलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ । जवाफ चित्त नबुझेको भन्दै बर्खास्त गर्ने रणनीति लिइएको हो ।

नियमअनुसार दुईपटक सम्म २४ घन्टे स्पष्टीकरण सोध्नुपर्छ । स्पष्टीकरण चित्त नबुझेको खण्डमा सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्त गर्ने अधिकार गृह सचिवसँग हुन्छ ।

निर्मला प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को बारेमा भने प्रहरी प्रधान कार्यालयले कुनै कारबाहीको लागि सिफारिस गरेको छैन । सरकारले गठन गरेको छानविन समितिले सार्वजनिक गरेको प्रतिवेदनमासमेत घटनाको अनुसन्धान गरेका डिएसपी अंगुर जिसीको बयान समेटिएको छैन ।

हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयबाट सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रहरी उपरीक्षक डिल्लीराज बिष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामी समेतलाई शनिबारकै मितिबाट निलम्बन गरी अनुसन्धान अगाडि बढाउनुपर्ने औँल्याएको थियो ।

गृह मन्त्रालयले एसपी बिष्टलाई गत भदौ ९ गते निलम्बन गरेको थियो । प्रहरीले निर्मलाको हत्यामा ४१ वर्षीय दिलिपसिंह बिष्टलाई मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेपछि प्रहरीको अनुसन्धान शंकास्पद भएको भन्दै स्थानीय आन्दोलित बनेका थिए ।

पन्तको बलात्कार र हत्यापछि दोषी पहिचान गर्न सहज हुने प्रमाणहरु नष्ट गरेको आरोप एसपी विष्टमाथि लाग्दै आएको छ ।

निर्मला घटनाबारे अनुसन्धान गर्न सरकारले गठन गरेको छानविन समितिले तयार पारेको प्रतिवेदनमा एसपी विष्टले अनुसन्धानमा लापरबाही गरेको निष्कर्ष निकालेसगैं एसपी विष्ट कारबाहीमा परेका हुन् ।

प्रहरी नियमावलीमा आफ्नो पदीय जिम्मेवारी पुरा नगरेमा, आचरण सम्वन्धी कुरा बारम्वार उल्लङ्घन गरेमा, बारम्वार अनुशासनहीन काम गरेमा बर्खास्त गर्न मिल्ने व्यवस्था छ ।