‘यो ८ महिनामा सरकारले मुलुकको अर्थतन्त्र तहसनहस बनायो’
काठमाडौं, ६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री एन.पी. साउदले वर्तमान सरकार असफल भैसकेकोले गम्भिर जोखिममा रहेको बताएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘वर्तमान सरकार आन्तरिक द्वन्द्वको चक्रव्यूहमा परेको छ । हामीले सरकारको आलोचना गर्नु त धर्म नै हो । तर, नेकपाकै बरिष्ठ नेता, त्यो पनि पूर्वप्रधानमन्त्रीजस्तो नेताले सरकारको गम्भिर आलोचना गर्नुभएको छ । यो सरकार धेरै चल्नुहुँदैन् भनेर भन्नुभएको छ ।’

सरकारले अहिलेसम्म राहतका काम केही पनि गर्न नसकेको उनले गम्भिर आरोप लगाए । उनले भने,‘चामल, दाल, तेल, चिनीको मुल्य वृद्धि गरिएको छ । दैनिक उपभोग्य वस्तुको मुल्य उपभोक्ताको ढाड सेक्नेगरि बढाईएको छ । जिम्मेवार मन्त्रीहरु तस्करहरुलाई संरक्षण दिने काम गरिरहेका छन् । चिनीको मुल्यवृद्धि पनि त्यसैको परिणाम हो ।’
सरकारले समृद्धि हाँसिल गर्नु त टाढाको विषय भएको बताउँदै उनले भने,‘अहिले कर्मचारीको तलब दिन सक्ने अवस्था पनि छैन् । कर्मचारीलाई तलब नदिँदा दशैं मनाउन पाएनन् । आर्थिक विपतको पूर्व संकेत देखा परिसकेको छ । यो ८ महिनामा मुलुकको अर्थतन्त्र सरकारले तहसनहस पारेको छ । समृद्धि र स्थिरतामा सरकार असफल भएको छ ।’ संविधान कार्यान्वयन गर्नपनि सरकार असफल भएको उनले गम्भिर आरोप लगाए ।
नेता साउदले नेकपाको केन्द्रमा मात्रै नभएर ६ वटै प्रदेश र अधिकांश स्थानीय तहमा सरकार भएर हालीमुहाली भएपनि जनताले भनेजस्तो काम गर्न नसकेको आरोप लगाए । उनले भने,‘हुँदाहुँदा अब मुख्यमन्त्रीहरुले भेला आयोजना गरेर हामीलाई अधिकार प्रत्यायोजित गरिएन भनेर गुनासो पोखे । यसले संवैधानिक बिशृंखलता उत्पन्न गराउँछ । संविधान र संघीयतालाई नै असफल बनाउने बाटोतर्फ यो सरकार हिँडिरहेको छ ।’
निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन महिना बितिसक्दापनि सरकारले अपराधी पत्ता लगाउन नसकेकोमा गम्भिर आपत्ति जनाए । उनले भने,‘सारा राज्य लागेको छ, तर अहिलेसम्म अपराधी पत्ता लगाउन सकेको छैन् । सरकारले केही कर्मचारी र प्रहरी अधिकारीलाई निलम्बित गरेर जनताको मुख्य ध्यान भड्काउन खोज्दैछ । बलात्कारीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
उनले नेकपाका साना भुरा कार्यकर्ताहरुले प्रशासन चलाउन खोजेर कर्मचारी तन्त्रको मनोबल खसाईरहेको पनि आरोप लगाए । उनले भने,‘सरकार ठिक बाटो (ट्रयाक)मा आओस्, तर सुध्रिने कुनै छाँटकाँट छैन् । यो वाम सरकार होईन, दाम र खाम सरकार हो ।’




प्रतिक्रिया