मुख्यमन्त्री राउतकै अगाडि प्रचण्डले दिए यस्तो चेतावनी, उछिन्न खोजे दुर्घटना हुन्छ


जनकपुर, ६ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारले राष्ट्र, प्रणाली र संविधानलाई दुर्घ्टित हुने क्रियाकलाप गर्न नहुने बताएका छन् ।

दशैँ तिहार तथा छठपर्वको अवसरमा नेकपा प्रदेश नं २ जनकपुरधामद्वारा मंगलबार आयोजित शुभकामना आदानप्रदान समारोहमा उनले भने,“प्रदेश सरकारले सङ्घीय सरकारलाई उछिनेमा दुर्घटनाको खतरा प्रबल हुन सक्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले प्रदेश सरकारले सङ्घीय सरकारको काममा भएको कमजोरीको निहुँमा उछिन्ने क्रियाकलापतर्फ लागेमा सङ्घीयता विरोधी तत्वले मौलाउन सक्नेप्रति चिन्ता व्यक्त गर्दै दुर्घटना हुने गरी अगाडि बढ्ने मूर्खतापूर्ण कार्य गर्न नहुने धारणा राखे ।

कुनै पनि अतिवाद, विखण्डनवादको पछि नलाग्न आग्रह गर्दै उनले काठमाडौँबाट अलग मधेश राष्ट्र बनाउने मधेशी जनतालाई बर्बाद पार्ने दुस्वप्नकारीलाई परास्त गर्नु आजको आवश्यकता भएको पनि औंल्याए ।

अध्यक्ष दाहालले काठमाडौँको निर्माणमा पहाडका मान्छेले मात्र नगरी मधेशीको पनि उलेख्य योगदान रहेको बताउँदै राष्ट्रिय एकताले नै मधेशी जनताको पहिचान स्थापित हुनसक्ने विश्वास दिलाए ।

उपयुक्त समयमा सविधान संशोधन गरी मधेशीको सम्मान, अधिकारप्राप्तिको कार्य भइरहेको जानकारी गराउँदै उनले भने, “प्रदेश नं २ को सुनको टुक्रा झैँ मानिएको सुनकोशी–कमला डाइभर्सन सिँचाइ परियोजना, त्रियुगी नदीबाट खानेपानी योजना, निजगढ अन्तर्रा्ष्ट्रिय हवाई अड्डा, जनकपुरधाम–सिमरा रेल सेवाका निर्माण कार्य यथाशीघ्र शुरू गरी विकासको क्रान्तिकारी भूमिका निर्वाह गरिनेछ ।”