काठमाडौं, ८ कात्तिक । सत्तारुड दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् प्रतिनिधि सभा सदस्य नवराज सिलवालले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई हावा कुरा नगर्न चेतावनी दिएका छन् ।
बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । आफू जहिल्यैपनि जनताको बीचमा रहेको उनले सुनाए । सिलवालले भने,”म त विहानदेखि बेलुकासम्म जनताको बीचमा नै हुन्छ। धेरै व्यस्त छु ।”
सुरक्षा निकायबाट एक्कासी राजनीतिमा हाम फाल्नुभयो अनि चुनाव पनि जित्नुभयो, यो बीचमा तपाईले के चमत्कार गर्नुभयो भनेर धमलाले सोधेको प्रश्नमा उनले भने,”होईन, म परिवर्तनको एउटा सम्वाहक बन्ने प्रयास गरेको छु । राजनीतिक वृत्तमा एउटा अलग खाले व्यक्तित्व बनाउने प्रयास पनि गरिरहेको छु ।”
प्रदेश नम्बर २ ले प्रदेश प्रहरी ऐन ल्याएकोप्रति उनले कडा आक्रोश पोखे । उनले भने, “प्रदेश २ ले गरेको यो काम ठीक छैन । मुख्यमन्त्रीले ठीक गर्नुभएन् । संघीय ऐन नबनीकन प्रदेश ऐन कसरी बनाउन सकिन्छ ? किनकी बाझियो भने त्यो खारेज हुन्छ ।”
२ नम्बर प्रदेशका मुख्यमन्त्रीले लालबाबु राउतविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका सांसद सिलवालले भने,”उहाँको बोलीमा सिक्वेन्स छैन । कहिले एउटा कुरा बोल्नुहुन्छ। कहिले अर्को कुरा बोल्नुहुन्छ ।”
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता तुहाउन खोज्दैछन् भनेर लगाईएको आरोपमा समेत कुनै सत्यता नभएको उनको जिकिर छ । उनले भने,”जसले त्यो भनेको छ, त्यो गलत कुरा हो । केपी ओलीजस्तो नेता यो मुलुकले पाएको छ । अब हामी सबैले उहाँलाई कसरी सहयोग गर्ने भन्नेबारे सोच्नुपर्छ । विकास निर्माणमा उहाँको नेतृत्वलाई सबैले साथ दिएर योगदान पुर्याउनुपर्छ ।”




प्रतिक्रिया