निर्मला प्रकरण : न्यायको निधारमा कलंकको टिको


कात्तिक ९, काठमाण्डौ । कञ्चनपुरकी १३ वर्षीया कलिलि किशोरीको बलात्कार पछि हत्या भएको ३ महिना भएको छ । तर, अपराधी पत्ता लगाउन त परको कुरा प्रहरीको अनुसन्धान नै शून्य बन्दै गएको छ । र, निर्मलाहरुले न्याय नपाउँदा देशमा बलात्कारीको मनोबल बढ्दै गएको छ भने बलात्कारको ग्राफ उकालो लागेको छ ।

निर्मला पन्त, जसको पढेर फर्किदै गर्दा बलात्कार भयो र हत्या गरियो । घटना भएको ३ महिना पुग्यो । तर, हत्यारा अझै पत्ता लाग्न सकेको छैन । न्याय एकादेशको कथा झै भएको छ । र, घटनालाई झन झन रहस्यमय बनाइदैछ । तर, सरकार अझै भनिरहेको छ, हामी अपराधी खोजीरहेका छौ ।

यहिबीचमा निर्मलाको हत्या प्रमाण नष्ट गरेका अरोप लागेका दुई प्रहरी अधिकारीलाई गृहमन्त्रालयले सेवाबाट बर्खास्त गरेको छ । अपराधी पत्ता लगाउने भन्दा निर्दोशलाई अपराधको भारी बोकाउन खोजेको र हत्याको सबै प्रमाण मेटाएको आरोपमा एसपी डिल्लीराज बिष्ट र इस्पेक्टर जगदीश भट्टलाई सेवाबाट बर्खास्त गरेको छ ।

जन आक्रोश शान्त पार्न दुई प्रहरी अधिकारीलाइ बर्खास्त गरे पनि प्रहरीको अनुसन्धान भने शून्य जस्तै बनेको छ । निर्मलाको हत्या भएको तीन महिना वित्दै गर्दा अहिलेसम्म सातवटा छानविन समिति बने, तर कसैले अपराधि पत्ता लगाउन सकेनन् । गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मले न्याय दिने प्रतिवद्धता जनाए तर, हत्यारा अझै पत्ता लागेन ।

गज्जव के छ भने निर्मलाको हत्यारा खोज्न भन्दै पुरै राज्यसंयन्त्र लागे झै गरिएको छ तर अझै अपराधिलाई कठघरमा उभ्याउन सकिएको छैन् । यो भन्दा विडम्बना के हुन सक्छ ? तर, प्रहरी अझै भनिरहेको छ अनुसन्धान जारी छ ।

अनुसन्धान कहिलेसम्म हुन्छ प्रहरीलाई नै थाहा होला । तर, पीडितले चाडो भन्दा चाडो न्याय पाउँनै पर्छ । निर्मलाको परिवारलाई बिष्ट र भट्ट जो जो बर्खास्तीमा परे पनि खास लिनु दिनु केहि छैन् । बस, हत्यारा पत्ता लागोस र कडा कारबाही होस । तर, यो नै चाही हुन सकेको छैन् । अनुसन्धानमा तीन महिना बिताएको सरकार र प्रहरीसँग उनीहरुको माग छ, शंकास्पद बिष्ट, भट्ट लगायतका प्रहरी अधिकारीलाई हिरासतमा लिएर अनुसन्धान होस, हत्या रहस्यको पर्दा चाडो खुलोस ।

हो, निर्मला जस्तै धेरै किशोरी र महिलाहरुले न्याय नपाएकै कारण, बलात्कारीलाई कसटढीमा सडाउन नसकेकै कारण बलात्कारीको मनबोल बढिरहेको छ । र, देशमा बलात्कारको ग्राफ माथि चडिरहेको छ । निर्मलाको बलात्कार र हत्या भएपछि बलात्कार विरुद्ध सडकमा विशाल प्रदर्शन भए । तर, यहिबीचमा ४०० भन्दा धेरै चेली बलात्कृत भए । कञ्चनपुरमा मात्रै एक दर्जन चेलीको अस्मिता लुटियो ।
निर्मलाहरुले न्याय नपाएकै कारण बलात्करीहरु अझै बढि सक्रिय बनेको अधिकारकर्मीहरुको ठहर छ । सरकार निरिह बनेकै कारण हरेक दिन चेलीको अस्मिता लुटिने क्रम बढकोको छ । जुन प्रहरी आफैले दिएको तथ्याङ्कले देखाउँछ ।

हो, निर्मलाहरुले न्याय नपाएकै कारण बलात्कारीको मनोबल बढ्दै गएको छ । देशमा छोरी चेलीहरु झनै असुरक्षित बन्दै गएका छन् । यसतर्फ सरकार कहिले संवेदनशिल बन्ने ? यो जनजनको प्रश्न हो ।
निर्मलाको केशमा एउटी चेलीको न्यायका लागि पुरै देश उर्लिदा पनि न्याय नपाउँदा निर्मलाको परिवार त आहात भएको छ नै प्रहरी र स्वयम सरकार माथि नै प्रश्न उठ्न थालेको छ । तीन महिना बित्दा र सातवटा छानवीन समिति बन्दा पनि किन निर्मलाको हत्यारा पत्ता लाग्न सकेन ? यो रहस्यमय बन्दै गएको छ ।

यति ठूलो जघन्य अपराधको अनुसन्धान शून्य बन्दै जानु सुरक्षा संयन्त्रको असफलतामात्रै होइन, राज्यले संविधानमा ग्यारेन्टी गरेको न्यायको निधारमा कलंकको टिको लाग्नु हो । प्रधानमन्त्री र गृहमन्त्री ज्यू यसतर्फ बेलैमा गम्भिर बन्नुस, हिम्मत कस्नुस् र निर्मलालाई न्याय दिएर छोरी चेलीलाई सुरक्षित छु भन्ने आभाष दिलाउनुस । नत्र देश बलत्कारीहरुको अखडा नबन्ला भन्न सकिदैन् ।