यसअघि विरामी हुँदाको फाइल तस्विर
कात्तिक ११, काठमाण्डौ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको छातीमा सङ्क्रमण भएपछि नेकपाले भृकुटीमण्डपमा शनिवार आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन सकेनन् । उनी विरामी भएको भन्ने जानकारी त आएको छ । तर वर्षमा एकपटक हुने चियापान कार्यक्रममा नै उपस्थित हुन नसकेपछि ओलीलाई के भएको हो भन्ने चासो बढेको छ ।
यसै सन्दर्भमा कुरा गर्दै प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले ओलीको स्वास्थ्य अवस्था जटील नभएको स्पष्ट पारेका छन् ।
“स्वास्थ्यमा केही समस्या आयो । उहाँलाई भाइरल रुघा र ज्वारो आएकाले कार्यक्रममा जान नसक्नुभएको हो । उहाँको किड्नी ट्रान्सप्लान्ट गरेकाले विरामी भन्नासाथ विभिन्न अड्कलबाजी गरिन्छ । त्यस्तो ठूलो समस्या केही पनि छैन ।” रिमालले भने ।
कार्यालयको काम अहिले पनि गर्न सक्ने अवस्थामा रहेको भन्दै रिमालले एक हप्ता सार्वजनिक कार्यक्रममा भने जान नसक्ने बताए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रिमालले यो जानकारी दिएका हुन् ।




प्रतिक्रिया