काठमाडौं, ११ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महासमिति बैठक तोकिएकै मितिमा राख्न दबाब दिँदै आएका थिए । अन्ततः पौडेलले भनेझैं सभापति देउवाले पार्टीको महासमिति बैठकको मिति नै तोके ।
आउँदो मंसिर ५ देखि ९ गतेसम्म काठमाडौँँमा आयोजना हुने भनिएको कांग्रेस महासमितिको बैठक बस्ने स्थान टुंगो लागेको छ । शनिबार देउवाको अध्यक्षतामा पार्टीका केन्द्रीय पदाधिकारीहरु र उपत्यकाका तीनै जिल्ला कार्यसमितिहरुको संयुक्त बैठकले महासमिति बैठक बस्ने स्थान टुंगो लगाएको हो ।
संयुक्त बैठकले महासमितिको बैठक काठमाडौंको भृकटीमण्डपमा गर्ने निर्णय गरेको छ । यस्तै, बैठकमा सभापति देउवाले कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिका सभापतिको संयोजकत्वमा रहेको स्थानीय व्यवस्थापन समितिलाई महासमितिको बैठक र २०७५ कात्र्तिक १६ गते पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो १ बजेदेखि ५ बजेसम्म हुने जलपान समारोह तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई भव्य र व्यवस्थित रुपमा सम्पन्न गराउने सन्दर्भमा आवश्यक निर्देशन दिए ।
शनिबारै स्थानीय व्यवस्थापन तयारी समिति र उपत्यकाका तीनै जिल्ला कार्यसमितिको बैठक बसेको छ । त्यो बैठकले महासमितिको बैठक र चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम व्यवस्थित र भव्य बनाउनका लागि तीनै जिल्लालाई व्यापक परिचालन गर्ने निर्णय गरेको छ । महासमितिको बैठकका लागि विभिन्न उपसमितिहरु गठन गर्न स्थानीय व्यवस्थापन समितिको अर्को बैठक सोमबार अपरान्ह २ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने बताइएको छ ।




प्रतिक्रिया