बजारमा सयपत्री र मखमली होइन, नक्कली फूल


काठमाण्डौ । फुलैफूलको चाड तिहारको समयमा सयपत्रि र मखमलिको निकै नै चर्चा गर्दछ । तर, समय बिस्तारै फेरिन थालेको छ । बजारमा फूलको अभाव हुन थालेपछि सयपत्रि र मखमलीको स्थान कृत्रिम फूलहरुले लिन थालेका छन ।

बजारको माग अनुसार स्वदेशमा सयपत्री र मखमली फूलको उत्पादन नभएपछि भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । तिहारको बेला दैनिक १५ देखि १७ हजार फूलको मालाको माग हुने गरेको र स्वदेशमा उत्पादन नहुने भएपछि भारतबाट ल्याउनुपर्ने बाध्यता छ ।

तिहारको प्रमुख तीन दिन १७ लाख मालाको माग हुदै आएको फ्लोरिकल्चर एसोसिएन नेपालले जनाएको छ । यो बर्ष त झन २२ लाख सयपत्रि फूलको मालाको माग भएको छ ।

यो वर्ष एउटा मालाको ५० देखि ६० रुपैयाँ पर्ने भएको छ । गत वर्ष प्रतिमाला ४० देखि ५० रुपैयाँ पथ्र्यो । अन्य वर्षको भन्दा यो वर्ष तिहार ढिलो परेको हुनाले अधिकांश ठाउँमा फूल बोटमै ओइलाउन थालेको छ । आफनो बगैचामा फूल पनि नहुने र बजारमा समेत फूलको अभाव हुन थालेपछि सर्वसाधारण प्लाष्टिकका फूलतर्फ आकर्षित हुन थालेका छन ।

दिपावलीमा सर्वसाधारणहरुले फूल माला तथा झालरहरुले घर आंगन सजाउने हुँदा यस्ता कृत्रिम सामग्रीहरुको बिक्रि वितरण अत्यधिक भएको व्यापारीहरु बताउँछन् । ब्यापारीहरुले पनि यहि समयको फाईदा उठाउँदै ब्यापारलाई निकै तिब्र पारेका छन् ।

तिहारका लागि घरघरमा लगाईने हजारी, सयपत्री र मखमली जस्ता फूलहरुको व्यवसायिक खेति नहुनु तर माग भने बढदै जानुले प्लाष्टिकका फूलहरुको माग बढेको हो । नेपालको ३५ जिल्लामा ६ सय ५० पुष्प फर्म तथा नर्सरीबाट १ सय १० हेक्टर क्षेत्रफलमा पुष्पको खेती हुँदै आएपनि तिहारकोबेला त्यो अपुग हुने गरेको छ ।