काठमाण्डौ । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी एकता र सरकारलाई कमजोर पार्न षडयन्त्र भइरहेको जिकिर गरेका छन् ।
सरकार र पार्टीविरुद्ध षडयन्त्र गर्न देशभित्र र बाहिरबाट ठूलो कसरत भइरहेको दाहालको दावी थियो । नेकपा चितवनले आज भरतपुरमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकता प्रक्रिया तुहाउन कसरत गर्नेहरु फेरि सक्रिए भएको बताएका हुन् ।
अहिलेको परिवर्तन राजामहाराजाले दिएर आएको नभएकाले त्यस्ता षडयन्त्र सफल नहुने बताए । इमान्दारितापूर्वक दुई पार्टीले संकल्प गरेका कारण पार्टी एकीकरण सम्भव भएको उनको भनाई थियो ।
फरक प्रसंगमा दाहालले सरकारले विकासको पूर्वाधार तयार पार्ने कुरामा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए । उनले दुई छिमेकी देशसँगको सम्बन्ध सुध्रिढ बनाएको भन्दै विकासको ठूलै क्रान्तिकारी परिवर्तन आउने ठोकुवा गरे । कार्यक्रममा बोल्दै पार्टी महासचिव विष्णु पौडेलले एकता पक्रियामा कुनै त्रुटि नहोस् भनेर सचेत बनेको बताएका थिए । कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा नेता अमिक शेरचन, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौंडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।




प्रतिक्रिया