काठमाडौं, १२ कात्तिक । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । शिक्षण अस्पतालभित्र रहेको मनमोहन हार्ट सेन्टरमा राखेर उपचार भइरहेको छ ।
छातीमा संक्रमण देखिएको र चिनीको मात्रा असन्तुलित भएकोले प्रधानमन्त्री ओलीलाई आज विहान साँढे ४ बजे अस्पताल भर्ना गरिएको डा. उत्तमकृष्ण श्रेष्ठले पत्रकारहरुलाई जानकारी दिए । उनले भने,”उहाँको स्वास्थ्य अवस्थामा अहिले क्रमिक सुधार आईरहेको छ । ठूलो समस्या नदेखिएकोले हामीले धेरै ठूलो टिम बनाएका छैनौं ।”

उनका अनुसार प्रधानमन्त्री ओलीको उपचारमा अहिले मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह र छाती रोग विशेषज्ञ सन्त दासलगायतको टोली खटिएको छ । उनले एक दुई दिनभित्र प्रधानमन्त्री आफ्नो निवास फर्कने सम्भावना रहेका पनि जनाए ।
निजी चिकित्सक डा. सिंहले प्रधानमन्त्रीको सुगर एक्कासी हाई भएको र रुघाखोकीले च्यापेकोले आज अस्पताल भर्ना गरिएको जानकारी दिईन् । उनले भनिन्, सुगर नियन्त्रण गर्न घरमा असम्भव भएर यहाँ कंट्रोल गर्न ल्याएका हौं ।
कति दिनदेखि विरामी हुनुभएको हो ? भन्ने प्रश्नमा उनले भनिन्,”उहाँलाई दशैं सकिएपछि रुघाखोकी लागेको थियो । त्यतिवेला सामान्य थियो । शुक्रबारदेखि हल्का, बढेको र हिजोबाट खोकी पनि बढ्यो र सुगरको मात्रा बढेकोले अस्पताल ल्याएका हौं । अहिले सुगर नियन्त्रणमा छ।
ईन्फेक्सन नहोस् भनेर नै प्रधानमन्त्रीलाई आईसियुमा राखिएको पनि उनले जनाईन । यद्धपी उनले आईसियुमै राख्नुपर्ने अवस्था भने नभएको स्पष्ट पारिन् । उनले भनिन्सं-“क्रमणको जोखिम भएकोले आईसियुमा राखिएको हो ।”
त्यस्तै उनले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आईसकेकोले विदेश लैजानु नपर्ने पनि स्पष्ट पारिन् । उनले थपिन्,”विहानसम्म क्रमशः सुधार आईसकेको छ । आराम गर्नको लागि एक दुई दिन अस्पतालमै राख्छौं ।”
तस्विर : मुकुन्द कालिकोटे




प्रतिक्रिया