अस्पतालको विज्ञप्ति : ओलीको छातिमा संक्रमण, चिनीको मात्रा असन्तुलित


कात्तिक १२, काठमाण्डौ । टिचिङ अस्पतालले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यबारे पहिलो रिपोर्ट दिएको छ । रिपोर्टअनुसार उनको छातिमा संक्रमण देखिएको छ भने शरिरमा चिनीको मात्रा असन्तुलित देखिएको छ ।

‘उहाँको स्वास्थ्य स्थितिमा क्रमिक सुधार देखिएको र अरु स्वास्थ्य स्थिति सामान्य रहेको अनुरोध गदर्छौं’ विज्ञप्तिमा भनिएको छ ।

ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्री उपचाररत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै स्वास्थ्य अवस्था क्रमिक सुधारोन्मुख रहेको जनाएको हो ।

ओलीको उपचारमा पाँच जना चिकित्सकको टोली खटिएको छ ।

उनको उपचारका लागि निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह, मुटु रोग विशेषज्ञ डा. अरुण सायमी र जनरल मेडिसिनका डा. सन्तकुमार दासको मुख्य टिम छ । क्याबिनेट चिकित्सक तथा कलेजो विशेषज्ञ डा. दिलिप शर्मा र एनेस्थेसियाका डा. सुवास आचार्यले सघाइरहेका छन् ।

निजी चिकित्सक डा. दिव्या हिजोसम्म विदेशमा रहे पनि आज स्वदेश फर्केर उपचारमा संलग्न भइसकेकी छिन् ।