कात्तिक १४, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीकी निजी चिकित्सक दिव्या सिंह शाहले ओली प्रधानमन्त्री भएपछि धपडी बढेको बताएकी छिन् । अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि यस्तै धपडी भएको उनले स्मरण गरिन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै शाहले पछिल्लो ५ वर्षदेखि ओलीको स्वास्थ्यबारे आफू जानकार रहेको बताइन् ।
“सन् २०१३ मा पहिलो पटक मैले उहाँको स्वास्थ्य हेरेको हुँ । त्यतिबेला धेरै समस्या थियो । ग्राण्डीमै बोलाएर भर्ना गरेर उपचार गरेको थिएँ ।” उनले भनिन् ।
त्यसबेला मृगौलाकोभन्दा पनि अरु समस्याहरु देखिएको उनले बताइन् । हातको संक्रमण र बिचमा म्यानेन्जाइटिस पनि भएको शाहले जानकारी दिइन् ।
अहिले सामान्य रुघा खोकीको मात्रै समस्या देखिएको भन्दै उनले ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन् ।
“भाइरल इन्फेक्सनका कारण रुघा खोकीको समस्या मात्रै देखिएको हो ।” शाहले भनिन् ।
इन्फेक्सनका कारण सुगर बढ्ने गरेको शाहले बताइन् । ज्वरो आएपछि ओलीले खानामा कम गरेकाले पनि समस्या भएको उनको भनाई छ ।
अस्पताल लगिएको राति २ बजे आफू वालुवाटार पुगेर ओलीको स्वास्थ्य अवस्था जाँच गरेको शाहले बताइन् ।
प्रधानमन्त्री जस्तो व्यक्तिको स्वास्थ्यका विषयमा आफूले जोखिम मोल्न नचाहेर अस्पताल जान सल्लाह दिएको शाहले बताइन् । अबको एक हप्ताभित्रमा ओली पूर्ण स्वास्थ्य भएर काममा फर्किन सक्ने उनले बताइन् ।




प्रतिक्रिया