सरकारी कामकाजका सूचना सम्प्रेषणमा जोड

0
Shares

काठमाडौँ,१६ कात्तिक । सरकारी सूचना सम्प्रेषणलाई अझ बढी प्रभावकारी बनाईने भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित बैठकमा विभिन्न मन्त्रालयका प्रवक्ताले सरकारी कामकाजका सूचना सम्प्रेषणलाई अझ बढी प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनीहरुले मन्त्रालयहरुबीच समन्वयात्मक ढङ्गबाट काम हुनुपर्ने आवश्यकता औँल्याए । प्रवक्ताले के काम गरिरहेका छन् र कस्ता कस्ता समस्या भोगिरहेका छन् भन्ने विषयमा पहिलो पटक प्रवक्ता, सहप्रवक्ता तथा सूचना अधिकारीबीच बैठक बसेर छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी सीता निरौलाले जानकारी गराए।

उनका अनुसार छलफलमा विभिन्न मन्त्रालयका प्रवक्ताले राति जतिबेला पनि सूचना माग्ने र तुरुन्तै सूचना चाहिने अवस्थाका कारण समस्या परिरहेको गुनासो गरेका थिए ।कतिपय सूचना विभिन्न मन्त्रालयको समन्वयमा बाहिर आउनुपर्ने हुँदा तत्कालै सूचना उपलब्ध गराउन सक्ने अवस्था नरहने प्रवक्ताहरुले बताएको सूचना अधिकारी निरौलाले बताए । यस्ता समस्यामा समन्वयात्मकरुपमा अघि बढ्नुपर्नेमा उनीहरुको जोड रहेको थियो ।

समस्या आएमा बसेर छलफल गर्न सकिने तर सरकारका कामलाई प्रभावकारी रुपमा सार्वजनिक गर्न सबै प्रवक्ताले प्रभावकारी भूमिका खेल्नुपर्नेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जोड दिएको सूचना अधिकारी निरौला बताउन्छन ।

कार्यक्रममा प्रवक्ता कार्यविधि २०६१ को बारेमा समेत छलफल भएको बताइएको छ । रासस