वरिष्ठ नेता नेपालको आक्रोषप्रति मन्त्री ज्ञवालीको यस्तो जवाफ


कात्तिक १७, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले जनतालाई प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकारको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।

नेकपाको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा नेता नेपालले सरकारले दिर्घकालीनका साथै तत्कालीन जनतामाफ प्रत्यक्ष सरोकार हुने बिषयमा ध्यान दिनुपर्ने बताएका हुन् । उनले जनतालाई प्रत्यक्ष सरोकार राख्ने बिषयमा सरकार सुस्त रहे जनतामा नकारात्मक सन्देश जान सक्ने तर्फ सचेत गराए । उनले सरकार र नेकपाले प्रतिपक्षीलाई सदन र सडकमा आउने अबस्था दिनै नहुने धारणा राखे ।

कार्यक्रममा नेकपा नेता अमृतकुमार बोहराले सरकारले रणनीतिक काममा सफलता हासिल गरेको दाबी गरे । नेता बोहराले अब बस्ने स्थायी कमिटीको बैठकमा नेताहरुबीच देखिएको दूरीलाई समाप्त पार्दै पार्टीलाई एकताबद्ध बनाउन आ–आफ्नोतर्फबाट भूमिका खेल्न नेताहरुलाई आग्रह गरेका छन् । त्यस्तै नेकपा स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाले दुईतिहाइ बहुमतप्राप्त सरकारले सबैभन्दा पहिले शासकीय गुण बनाउन जरुरी रहेको बताए ।

नेताहरुले पार्टीको कमजोरीलाई टेकेर सरकार असफल बनाउने प्रयासमा प्रतिपक्षी दल नेपाली कांग्रेस लागेको आरोप लगाएका छन् ।

यता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकारले दुइतिहाई बहुमतको दुरुपयोग नगरेको स्पष्ट पारेका छन् ।

शनिबार नेकपा काठमाडौं क्षेत्र नंवर १ ले आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले दुइतिहाई बहुमतको दुरुपयोग नगरेको भन्दै कुनै दम्भ पनि नरहेको स्पष्ट पारे । उनले अहिले सरकारको एकमात्र लक्ष्य मुलुकको बिकास र समृद्धि मात्र भएको धारणा राखे । वर्तमान सरकार गठन भएको आठ महिनामा सरकारले बिकास र समृद्धिको जग बसाल्ने काम गरेको उनले बताए ।

उनले नेपालमा संघियता नौलो प्रयोग भएको भन्दै यसको कार्यान्वयनका क्रममा तीन तहका सरकारबिच केहि असमझदारी हुनु सामान्य भएको टिप्पणी गरे । मन्त्री ज्ञवालली केहि घटनालाई मुद्धा बनाएर सरकारलाई असफल र बद्नाम बनाउने प्रयास भईरहेको भन्दै यसप्रति सरकार र नेकपा सचेत रहेको जिकिर गरे । निर्मला पन्तको बलात्कारपछि भएको हत्याका बिषयमा सरकार निकै संवेदनशिल भएको भन्दै उनले अपराध नियन्त्रणमा सरकार कुनैपनि हालतमा पछि नहट्ने स्पष्ट पारे ।

त्यस्तै परराष्ट्रमन्त्री ज्ञवालीले अहिले नेपाल र छिमेकीमुलुकबिचको सम्बन्ध सुमधुर भएको भन्दै बैदेशिक लगानी भित्र क्रम पनि बढेको बताए ।