सुनौली । दशै र तिहारका बेला नेपाली उपभोक्ताले खचाखच भरिने भैरहवाको सिमावर्ती बजार सुनौली यसपटक भने सुनसान जस्तै बनेको छ । नेपाली उपभोक्ताको भरमा चलेको सुनौली बजार पर्याप्त नेपाली उपभोक्ता नगए पछि सुनौलीका व्यवसायी पनि निराश देखिएका छन् ।
सधैका वर्षकाहरुमा दशै तिहारका बेला भिड लाग्ने सिमावर्ती सुनौली बजार यसवर्ष भने सुनसान जस्तै भएको छ । नेपाल सरकारले सुनौलीबाट चिनी ल्याउन नदिए पछि नेपाली उपभोक्ता अन्य सामान किन्नका लागी समेत सुनौली बजार जान छोडेका छन ।
सुनौली जाने नेपाली उपभोक्ताहरुको संख्यामा कमि आएका कारण किराना पसल निकै सुनसान भएका छन् भने कपडा पसलमा पनि विगतको भन्दा भिडभाड घटेको छ ।
सिमावर्ती बजार सुनौलीमा नेपालीहरु चिनी, चियापत्ती, मरमसला देखि भान्सा अन्य सामान सहित लत्ताकपडा खरीदका लागि जाने गर्छन् । लत्ता कपडा खरीदका लागि रुपन्देहीको बुटवलबाट सुनौलीमा पुगेका उपभोक्ता नेपालमा भन्दा सस्तो पाइने भएकाले आफुहरु सुनौली आएको बताउछन् ।
नेपाल भन्सार एजेण्ट महासंघका अनुसार पछिल्ला केही महिनादेखि भारतीय बजारको तुलनामा नेपाली बजार नै चल्ने गरेको छ । नेपाली बजारमा सही मुल्यमा गुणस्तरीय सामान दिन सके सुनौली अब कहिल्यै उठ्न नसक्ने महासंघको भनाइ छ ।
नेपाली व्यापारीले उपभोक्तालाई आर्कषित गर्नुपर्ने, नेपाली उपभोक्तालाई नेपाली उत्पादन बारे जागरुक बनाउनुपर्ने लगायतका काम गर्न सके नेपाली उपभोक्ता भारतीय बजार नजाने महासंघको ठहर छ ।




प्रतिक्रिया