गलेश्वर शिवालयको अवलोकनमा अध्यक्ष दाहाल

0
Shares

काठमाडौँ,२७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयको अवलोकन गरेका छन ।

सो क्रममा नेकपा अध्यक्ष दाहाल र गृहमन्त्री रामबहादुर थापाले समेत बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरको दर्शनसमेत गरेको समाचारहरुमा जनाइएको छ ।उनलाई नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित रहेको गलेश्वर मन्दिरसँगै ढुङ्गामाथि कहिल्यै नसुक्ने जलकुण्ड, चट्टानमाथि पलाएका शिलालगायतको समेत अवलोकन गराइएको बताइएको छ।

धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा रहेको गलेश्वरको महत्वबारे गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसी र मन्दिरका पण्डित भीमनाथ पराजुलीले जानकारी गराए ।मुक्तिनाथ प्रवेशद्वारको रुपमा रहेको गलेश्वरको ऐतिहासिक महत्व र यहाँको समस्याबारे जानकारी लिन अवलोकन भ्रमण गरिएको अध्यक्ष दाहालका निजी सचिव जोगबहादुर महरा बताउन्छन।

अध्यक्ष दाहाल र गृहमन्त्री थापाले आज बिहान म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना, बेनी–जोमसोम–कोरला सडक, बेनी बजारमा कालीगण्डकी नदीले गरेको कटानलगायतको स्थलगत अवलोकन गरेका थिए ।

बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसासम्बन्धी रोगबाट पीडित दाहालपत्नी सीताको उपचारको सिलसिलामा सोमबारदेखि म्याग्दीमा रहेका अध्यक्ष दाहालसहित गृहमन्त्री रामबहादुर थापा र उनकी पत्नी नैनकलासहितको टोलीले आज दुई पटक तातोपानीमा डुबेर स्नान गर्ने तयारीमा रहेको बताइएको छ । रासस