अघिल्ला सरकारको तुलनामा ओली सरकार सफल भएको छ : महेश बस्नेत


कात्तिक २८, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्व मन्त्री महेश बस्नेतले अब सरकारले प्रभावकारी काम गर्ने दावी गरेका छन् ।

जनताको बिचमा लोकप्रिय काम र योजना ल्याएर सरकार अगाडि बढ्ने तयारी भइरहेको बस्नेतको जिकिर छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै बस्नेतले प्रधानमन्त्री ओलीले वैज्ञानिक ढंगले काम गर्ने योजना बनाइरहेको बताए । सरकार गठन भएको ८ महिनामा विगतका सरकारले अस्तव्यस्त बनाएका विषयहरु व्यवस्थित बनाउनमै समय खर्चिएको बस्नेतको तर्क छ ।

अघिल्ला सरकारका तुलनामा केपी ओली नेतृत्वको सरकारले धेरै काम गरेको बस्नेतको दावी छ । यद्यपी जनताको चाहनाअनुसार काम भएन भन्ने तर्क स्वभाविक भएको बताए ।

नेकपाभित्रको बहस र विवाद सामान्य भएको भन्दै बस्नेतले जिवन्त पार्टीभित्रको बहसलाई अन्यथा ठान्न नहुने बताए । एकता प्रक्रियाले तिब्रता पाइरहेको भन्दै उनले नेतृत्वबारे पनि बहस सुरु भएको जानकारी दिए ।

“नेताहरुकोबीचमा धेरै मन नमिलेको भन्ने लाग्दैन । केही विषयहरुमा विचार व्यक्त भएका हुन् । चिन्तित हुनुपर्ने अवस्था छैन ।” बस्नेतले भने ।

राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफुलाई दिन नेकपा नेता वामदेव गौतमले राखेको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका छन् । यस विषयमा कुरा गर्दै नेता बस्नेतले गौतमको प्रस्तावलाई आफूले अन्यथा नलिएको बताए ।

विकास निर्माणका कामले तिब्रता नपाएको अवस्थामा गौतमको उपाय सफल हुन सक्ने बस्नेतले बताए ।