हरिश चन्दः डडेल्धुरा १४ मंसिर । जिल्ला सदरमुकाम डडेल्धुरास्थित विराट फेन्सी स्टोरका सञ्चालक बिर बहादुर सेटीले रडुवा खोला बस दुर्घटनाका ४ जना मृतकका परिवार र गम्भीर घाइते १ बालकलाई आर्थिक सहयोग गरेका छन । मंसिर ६ गते बेलुकी डा. केआई सिंह राजमार्गअन्तर्गत रडुवा खोलामा भएको स्कुल बस दुर्घटनामा परी ज्यान गुमाएका नवदुर्गा गाउँपालिकाका ४ जना मृतक र गम्भीर घाइते डोटीका एक बालकका आफन्तहरूलाई राहतस्वरूप जनही ५÷५ हजारका दरले २५ हजार नगद रकम सहयोग गरेका हुन ।
दुर्घटनामा ज्यान गुमाएका नवदुर्गा गाउँपालिका–३ का २२ वर्षीय चक्र धामी, १७ वर्षीय तीलक खाती, ३० वर्षीय टेक धामी र सोही गाउँपालिका–४ की १८ वर्षीया माया रावलका आफन्तलाई जनही ५–५ हजारका दरले शुक्रबार नगद रaकम सहयोग गरेका छन । सेटीले गरेको सहयोग रकम नवदुर्गा गाँउपालिका–१ का वडाध्यक्ष भीमबहादुर बोहरा, नेपाल पत्रकार महासंघ शाखा डडेल्धुराका अध्यक्ष मानबहादुर साँउद र उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष खेमराज पनेरुलाई हस्तान्तरण गरिएको छ ।

यस्तै दर्घटनामा परी गम्भीर घाइते दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका नवीन विकलाई समेत ५ हजार रुपैयाँ सहयोग गरेको फेन्सी स्टोरका सञ्चालक सेटीले जानकारी गराए । राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचारार्थ नवीन बिहीबार नै डिस्चार्ज भइसकेका छन् । बस दुर्घटनामा आमा गुमाएका र बुवा बेपत्ता रहेका बालक नवीन विकका लागि जनप्रिय पब्लिक स्कुलले पनि आर्थिक संकलन अभियानको थालनी गरेको जनार्ईएको छ ।
दुर्घटनामा आमा गुमाएका घाइते डोटीका १० वर्षीय बालक विकलाई सो स्कुलका विद्यार्थीहरुलेपनि आर्थिक सहयोग गरेको जनाएको छ । विद्यार्थीहरुबाट ४ हजार संकलन गरिएको जनप्रिया पब्लिक स्कुलका प्रिन्सिपल मुकेश भट्टले जानकारी गराए । यस्तै गौणीबाग ट्रेड्स बागबजार डडेल्धुरा संचालक डम्बरराज जोशीले नगद रु १० हजार सहयोग गरेका छन् । संकलित रकम बालकको उपचारमा जुटेको डोटेली समाज काठमाडौंको कृषि विकास बैंकमा रहेको बचत हिसाब खाता नं. ०४०४१२ जम्मा गरिने जनाइएको छ । घाइते बालक नवीनको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको र उपचारमा आर्थिक अभाव भएको समाचार प्रकाशनरप्रशारण भएपछि आर्थिक सहयोग संकलन अभियान नै सञ्चानल गरेको हो ।

राष्ट्रिय तथा स्थानिय पत्रपत्रिकामा समाचार पढेर आफू निकै भावुक भएका कारण बालकको उपचारमा सहयोग गरेको जनप्रिया पब्लिक स्कुलमा अध्ययनरत विद्यार्थी रोशन ठगुन्ना बताउन्छन । उग्रतारा मेला हेरेर घर फर्कने क्रममा विकले दुर्घटनामा परि आमा गुमाएका थिए । डडेल्धुराको उग्रतारा मन्दिरमा मेला भरेर फर्किंदै गरेको बस दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए भने २७ घाइते भएका थिए । घाइते मध्ये बालक नवीनका बुबा घर परिवारबाट सम्पर्क वहीन रहेको जनाएको छ । फोटोः हरिश चन्द




प्रतिक्रिया