मन्त्री पण्डितको दाबी : पुस मसान्तभित्र प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन गरिसक्छु

0
Shares

काठमाडौं, १९ मङ्सिर । सरकारले पुस मसान्त भित्र प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्थापन गरिसक्ने दाबी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहका लागि आवश्यक प्राविधिक कर्मचारी करारमा लिएर काम गर्ने व्यवस्था मिलाइएको दावी समेत गरे।

उनले कर्मचारी समायोजनका लागि सरकारले संघीय निजामती सेवा ऐन र कर्मचारी समायोजनसम्बन्धि ऐन मन्त्रिपरिषद बैठकमा पेश गरिएको जानकारी दिए।

संघ, प्रदेश र स्थानीय तहबीचमा देखिएको समस्याबारे छलफल गर्न बुधबार आयोजित संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले कर्मचारीलाई कर्मक्षेत्रमा पनि निष्पक्ष रुपमा खटाउने प्रतिवद्धता व्यक्त गरे। मन्त्री पण्डितले आवश्यक्ताका आधारमा मात्रै स्थानीय र प्रदेश तहमा कर्मचारीको व्यवस्थापन गर्ने योजना अघि सारे।

कतिपय प्रदेश तहका कर्मचारी घाम तापेर बस्ने गरेको उल्लेख गर्दै उनीहरुलाई पनि काममा लगाउने गरी सरकारले कर्मचारीको उचित व्यवस्थापन गर्ने पनि बताए। मन्त्री पण्डितले कार्य क्षेत्रमा जान नचाहाने कर्मचारीमाथि कडा कार्वाही गर्न सरकार बाध्य हुने चेतावनी पनि दोहोर्याए।

मन्त्री पण्डितले संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य सहज रुपमा भइरहेको दावी समेत गरे। उनले स्थानीय र प्रदेश तहमा कर्मचारीको अभाव हुन नदिन सरकारले गत असारमानै कर्मचारीको दरबन्दी स्वीकृत गरेको दावी गरे।