रेल, पानी जहाज र मोनो रेल सपना मात्रै होइन : डा. भट्टराई (भिडियोसहित)


फागुन ४, काठमाण्डौ । नेपाल कम्युनष्ट पार्टीका नेता तथा प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहाकार डा. राजन भट्टराईले वर्तमान सरकारले एक वर्षमा धेरै उपलब्धिपूर्ण काम गरेको दावी गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै भट्टराईले एक वर्षमा विकासको आधार तय भएको बताएका हुन् ।

यो अवधिमा विकास निर्माणका लागि आवश्यक कानुन निर्माण आवश्यक भएकाले त्यसमा सरकार बढि व्यस्त भएको उनले बताए । कर्मचारी समायोजन विधेयक संसदबाट पारित भएको विषय पनि महत्वपूर्ण उपलब्धि भएको डा. भट्टराईले बताए ।

विकास निर्माणको क्षेत्रमा के काम भयो भन्ने प्रश्नमा उनले विगत वर्षमाभन्दा बढि पर्यटक भित्र्याउन सफल भएको दावी गरे ।

परराष्ट्र नीतिमा पनि सरकार सफल भएको परराष्ट्रविद्समेत रहेका भट्टराईले बताए । राम्रा कामको सुरुवात भए पनि अहिले शतप्रतिशत सफल भएको भन्न चाँही नसकिने उनको तर्क छ ।

नेपाल भारत प्रवुद्ध समुहले तयार पारेको इपीजी प्रतिवेदन दुवै देशका सरकार प्रमुखले लिएर कार्यान्वयनमा लैजाने हो भने नेपाल र भारतबीचको सम्बन्धमा ठूलो फड्को मार्ने उनको दावी छ ।

नेपालीले रेल चढ्ने सपना यही सरकारले पूरा गरेरै छाड्ने भट्टराईको जिकिर छ । नेपालको विकासका लागि रेल र पानी जहाज अनिवार्य रहेको पनि उनको तर्क छ ।

काठमाण्डौमा मोनोरेल ल्याउने कुरा पनि सपना मात्रै नभएर छिटै यथार्थमा परिणत हुने उनले बताए ।