विराटनगर, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले मुलुकमा हिंसाका गतिविधि सञ्चालन गर्ने पक्षसँग सरकारले अविलम्ब वार्ता गर्नुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै गच्छदारले यस्तो बताएका हुन् । उनले गोलीबाट समस्या समाधान नहुने भएकाले हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (चन्द)सँग वार्ता गर्नुपर्नेमा जोड दिएका हुन ।
विगतका घट्नाबाट हामीले पाठ सिक्नुपर्नेमा जोड दिँदै उपसभापति गच्छदारले सम्वद्ध पक्षसँग वार्ता गरी समस्या समाधान गर्नका लागि सरकारलाई प्रतिपक्षको सहयोग रहने पनि विश्वास दिलाए ।
उनले वर्तमान दुईतिहाइ बहुमतको सरकारले जनताको पक्षमा काम गर्न नसकेको र जनताले परिवर्तनको महसुस गर्न नपाएको आरोप लगाए ।
एक प्रश्नको जवाफमा नेपाली काङ्ग्रेसले संविधानमा धर्म्निरपेक्षता स्वीकारिसकेको अवस्थामा हिन्दू राष्ट्र कायम हुनुपर्छ भन्ने धारणा नेपाली काङ्ग्रेसको आधारिक धारणा नभएको नभएको पनि उनले जनाए । उनले सबै नेपाली जनताको स्वीकार्य संविधान बनाउनका लागि संविधान संशोधन आवश्यक रहेको जिकिर गरे ।




प्रतिक्रिया