प्रदेशको नामाङ्कन र राजधानी सहमतिबाटै टुङिगन्छ– मन्त्री आङ्बो

0
Shares

मङ्गलबारे,१५ फागुन । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आगामी हिउँदे अधिवेशनबाट प्रदेशको नामाङ्कन र राजधानी टुङ्गो लगाउने बताउनुभएको छ । इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पाको रूपाटारमा निर्माण गरिएको सिद्ध किराँत हाङसाम युमा माङहिम मन्दिरको मङ्गलबार उद्घाटन गर्दै मन्त्री आङ्बोले प्रदेशको नामाङ्कन र राजधानी सहमति र समझदारीमा टुङ्गो लगाउने बताउनुभएको हो ।

पहिचानको आधारमै प्रदेशको नामाङ्कन गर्दा किराँत प्रदेश हुनुपर्नेमा आफूले जोड दिएको बताउनुभयो । प्रदेश सरकार अहिले हिउँदे अधिवेशनबाट आगामी वर्षका लागि बजेट, नीति तथा कार्यक्रम बनाउने काममा लागिपरेको जनाउँदै उहाँले आगामी वर्षको बजेटमा यस क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट बजेट विनियोजन गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

पाँच वर्षको अवधिमा प्रदेश नं १ मा कोही पनि जनता भोकमरी, आवासविहीन भएर बाँच्नु नपर्ने बताउँदै उहाँले प्रदेश सरकार समृद्धि र विकासको पक्षमा अघि बढिरहेको उल्लेख गर्नुभयो । धार्मिक तथा पर्यटकीयस्थलहरूको विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उहाँको भनाइ थियो ।

प्रदेशसभा सदस्य धीरेन्द्र शर्माले यस क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । सिँचाइ, विद्युत्, कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गर्ने बताउनुभयो ।

मन्दिर निर्माणका लागि प्रदेश सरकारले रु ५० लाख बजेट विनियोजन गरेको सिद्धकिराँत हाङसाम युमा माङहिम ९मन्दिर० का अध्यक्ष पञ्चबहादुर योङहाङले जानकारी दिनुभयो । कार्यक्रममा किराँत धर्मगुरू मुहिङगुम अङसिमाङ आत्मनन्द लिङदेन र गुरूमा पवित्रहाङमा लिङदेनले किराँत धर्मावलम्वीहरूलाई आर्शीवचन दिनुभएको थियो । रासस